काठमाडौं । म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटी ग्लोबलले काठमाडौंमा दुई अन्तर्राष्ट्रियस्तरका लक्जरी होटल सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं नामका होटल सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
सम्झौतासँगै म्यारियट इन्टरनेशनलका लक्जरी तथा प्रिमियम ब्रान्डहरू पहिलोपटक नेपाली बजारमा प्रवेश गर्ने भएका छन्। दुवै होटल सञ्चालनमा आएपछि म्यारियटको पोर्टफोलियोमा करिब ३०० ‘की’ थपिने कम्पनीले जनाएको छ।
यी परियोजना चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबल, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एण्ड कम्पनीको साझेदारीमा विकास गरिनेछन्। सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुपका अध्यक्ष डा. बिनोद चौधरी, सीजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी तथा अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
म्यारियट इन्टरनेशनलका एशिया प्रशान्त (चीनबाहेक) अध्यक्ष राजीव मेननले नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रको सम्भावनालाई ध्यानमा राख्दै चौधरी ग्रुपसँगको सहकार्यलाई थप विस्तार गर्न पाएकोमा खुसी व्यक्त गरे। उनका अनुसार यी परियोजनाले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछन्।
सीजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले पनि म्यारियटसँगको सहकार्यले नेपाल तथा दक्षिण एशियाको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले परियोजनाले अन्तर्राष्ट्रियस्तरको सेवा, स्थानीय संस्कृति र दिगो विकासलाई एकसाथ अघि बढाउने बताए।

ठमेल क्षेत्रमा निर्माण हुने द रिट्ज–कार्लटन काठमाडौंमा १५० कोठा रहनेछन्, जसमा ३० वटा सुइट समावेश हुनेछन्। होटलमा पाँचवटा रेस्टुरेन्ट तथा बार, स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा तथा १,१०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको सम्मेलन तथा कार्यक्रमस्थल रहनेछ। होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलोमिटर दूरीमा हुनेछ।
त्यस्तै, द वेस्टिन काठमाडौंमा १५० वटा प्रिमियम कोठा तथा सुइट रहनेछन्। होटलमा तीनवटा डाइनिङ स्थल, फिटनेस स्टुडियो, स्पा, रूफटप स्विमिङ पुल तथा ७०० वर्गमिटरभन्दा बढीको बैठक तथा बैंक्वेट सुविधा उपलब्ध हुनेछ। वेस्टिन ब्रान्डको ‘वेलनेस’ अवधारणालाई केन्द्रमा राखेर होटल विकास गरिने कम्पनीले जनाएको छ।
म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटीबीच पछिल्ला वर्षहरूमा सहकार्य विस्तार हुँदै गएको छ। भारतमा ‘सिरिज बाई म्यारियट’ अन्तर्गत ७५ भन्दा बढी होटल सम्झौता सम्पन्न भइसकेका छन् भने विभिन्न अन्तर्राष्ट्रिय बजारमा पनि दुवै कम्पनीले संयुक्त रूपमा हस्पिटालिटी परियोजनाहरू अघि बढाइरहेका छन्।
हाल म्यारियट इन्टरनेशनलका १४६ देश तथा क्षेत्रहरूमा ९,९०० भन्दा बढी होटल सञ्चालनमा छन्। त्यस्तै, सीजी हस्पिटालिटीको पोर्टफोलियो १२ देशका १३० गन्तव्यमा फैलिएको छ, जहाँ २२० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन्।








