काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भएका छन् । पार्टी पदाधिकारीमा देउवापछि खड्का सिनियर हुन् ।
देउवाले असोज २६ देखि हुने केन्द्रीय कार्यसमिति बैठकपछि खड्कालाई कार्यवाहक सभापति दिने संकेत गरेको उनीनिकट केही केन्द्रीय सदस्यहरूले बताएका छन् । कांग्रेसको वर्तमान पदाधिकारीमा खड्का र अर्का उपसभापति धनराज गुरुङबाहेक अधिकांश युवा नेता छन् । प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, शेखर कोइराला, शशांक कोइराला सबै केन्द्रीय सदस्य हुन् । कांग्रेसमा खड्काभन्दा अरु नेता सिनियर भए पनि देउवाले उनैलाई कार्यवाहक जिम्मेवारी दिने बताइन्छ ।
खड्कालाई नेता सिटौलाले समर्थन गरेका छन् । पछिल्लो समय खड्का र सिटौला एउटै समूहमा छन् । उनीहरूको अर्को समूह बनेको छ । बिहीबार बिहान खड्का सिटौला निवास पुगेका थिए । जहाँ आठ–नौजना केन्द्रीय सदस्य थिए । कांग्रेसको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक बस्नुअघि खड्का सिटौला निवास पुगेका हुन् । सिटाैलाले सभापतिकाे राजीनामा मागेर हस्ताक्षर अभियान चलाएकाे भन्दै आक्राेश व्यक्त गरेका थिए ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस पदाधिकारी बैठकमा सामसामयिक राजनीतिक विषयका साथै असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचिलगायत विषयसमेतमा छलफल हुने छ । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलोपटक बस्न लागेको हो । देउवा आफैँले बोलाएको बैठकमा पनि सहभागी नहुने भएपछि आजको बैठकको अध्यक्षता उपसभापति खड्काले गर्नेछन्।
प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति देउवा र उनकी धर्मपत्नी डा.आरजु राणा देउवामाथि उनकै निवासमा सांघातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।
स्वास्थ्यलाभपछि आराम गरिरहेका देउवा आजको बैठकमा उपस्थित नहुने र असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुने भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय पनि भदौ २४ गतेको जेनजी आन्दोलनबाट क्षतिग्रस्त भने छ। जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको आवाज उठिरहेको छ।





