काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन नियमित समयमै हुने बताएका छन्।
नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमा बोल्दै विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्दै नियमित महाधिवेशन गर्ने निर्णय जारी केन्द्रीय समिति बैठकबाट हुने बताएका हुन्।
खड्काले केन्द्रीय कार्यसमिति बैठकले घोषणा भएको निर्वाचन, नियमित अधिवेशनलगायत सबै विषयलाई विचार गरेर निर्णय गर्ने पनि बताए। ‘सबै कुरालाई एक ठाउँमा जोडेर चालू केन्द्रीय कार्यसमिति बैठकबाट घोषणा भएको निर्वाचन, पार्टीको नियमित अधिवेशन, भ्रातृ संस्थाका अधिवेशन सबै विषयलाई अगाडि राखेर, पार्टीका महाधिवेशन प्रतिनिधिले प्रस्ताव गर्नु भएको विशेष महाधिवेशनलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर वृहत एकतामा जोड दिइनेछ,’ उनले भने।
खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुन आग्रह गरे । नेपाल इतिहासकै प्रतिकूल अवस्थामा उभिएको र कांग्रेस पार्टीसमेत प्रतिकूल अवस्थामा रहेको उल्लेख गर्दै देश जोगाउन संकल्पसहित अगाडि बढ्न आग्रह गरे ।
‘शान्ति, सुशासन कायमका लागि जेन जेड युवाले गरेको शान्तिपूर्ण आन्दोलन घुसपैठ हुँदा मुलुकले ठूलो विपत्ति सामना गर्नुपर्यो, भदौ २४ गते देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि आक्रमण गरेर ध्वस्त बनाइयो, जनतालाई अधिकार सम्पन्न बनाउन लागेका सन्तनेताको आश्रम खरानी बनाइयो, देशको सिङ्गै राज्यप्रणालीमाथि आक्रमण गरेर प्रतिकूल अवस्थामा पुर्याइयो,’ तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा सानेपामा आयोजित चियापान कार्यक्रममा उनले भने।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षण गरेको भन्दै कार्यवाहक सभापति खड्काले उनको प्रशंसा गरे । उहाँले प्रतिकूल अवस्थामा नेपाल तरुण दलको स्थापना दिवस मनाउँदै गरेको अवस्थामा धैर्य भएर एकताबद्ध हुँदै सङ्गठित भएर सुशासन र समृद्धिको अभियानमा लाग्न आग्रह गरे ।
कार्यवाहक सभापति खड्काले एकताको भावबाट चालु केन्द्रीय समितिको बैठकबाट पार्टीको नियमित अधिवेशन, देशको निर्वाचन, भ्रातृ संस्थाका निर्वाचनलगायतलाई सम्बोधन गर्नेगरी बृहत् एकताका माध्यमबाट प्रतिकूलतालाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।








