काठमाडौं। गृहमन्त्रालयमा शनिबार साँझ बसेको उच्चस्तरीय सुरक्षा छलफल केहीबेरअघि सम्पन्न भएको छ। गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको उक्त बैठकमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याल सहित उच्च सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।

स्रोतका अनुसार बैठकमा दिनभर देशभर विकसित भएको राजनीतिक तथा सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरिएको छ। विशेषगरी राजधानी काठमाडौंसहित विभिन्न स्थानमा भएका प्रदर्शन, त्यसका क्रममा उत्पन्न तनाव र सुरक्षा चुनौतीबारे गहन छलफल भएको जनाइएको छ।

सरकारले केही दिनअघि मात्रै जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि आज बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई प्रहरीले पक्राउ गरेको थियो।

उनीहरूको पक्राउसँगै देशको राजनीतिक वातावरण तातेको छ। राजधानीका विभिन्न क्षेत्रमा दिनभर प्रदर्शन भएका छन् भने कतिपय स्थानमा स्थिति तनावग्रस्त बनेको थियो। सुरक्षा निकायले प्रदर्शन नियन्त्रणका लागि अतिरिक्त बल परिचालन गर्नु परेको स्रोतले जनाएको छ।

यही पृष्ठभूमिमा गृहमन्त्री गुरुङले सुरक्षा प्रमुखहरूसँग छलफल गरी वर्तमान अवस्थाको मूल्यांकन र आगामी कदमबारे रणनीति बनाउन बैठक डाकेको बताइएको छ। छलफलमा सम्भावित सुरक्षा जोखिम, भीड व्यवस्थापन, संवेदनशील क्षेत्रको निगरानी तथा कानून–व्यवस्था कायम राख्ने उपायहरूबारे केन्द्रित बहस भएको स्रोतको भनाइ छ।

सुरक्षा अधिकारीहरूले विभिन्न स्थानबाट प्राप्त प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा आन्दोलन थप चर्किन सक्ने आकलन गरेका छन्। त्यसअनुसार आवश्यक सुरक्षा तयारी सुदृढ बनाउने विषयमा सहमति भएको जनाइएको छ।