काठमाडौं । सम्पत्ति विवादपछि बुधबार मन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले गृहमन्त्री नियुक्त हुनुभन्दा दुई दिनअघि मात्रै धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको तथ्य सार्वजनिक भएको छ।
धनकुटा मालपोत कार्यालयका अनुसार साँघुरीगढी गाउँपालिका–६ कार्कीछापस्थित १९ रोपनी १५ आना जग्गा चैत ११ गते वारेसमार्फत गुरुङको नाममा पास गरिएको हो। उक्त जग्गाको सरकारी मूल्यांकन प्रतिरोपनी १७ हजार रुपैयाँका दरले गरी कुल ६ लाख ९० हजार रुपैयाँमा किनबेच भएको देखिन्छ।
मालपोतका कर्मचारीका अनुसार १६७ कित्ता नम्बरको उक्त जग्गा जुनु लिम्बू नामकी जग्गाधनीबाट खरिद गरिएको अभिलेखमा उल्लेख छ।
साँघुरीगढी–६ वडा कार्यालयको सिफारिसका आधारमा बाटो नभएको र सडकबाट भित्र पर्ने भनेर मूल्यांकन गरिएको मालपोतले जनाएको छ। वडा अध्यक्ष यमप्रसाद मगर (दीपक)ले जग्गा कसले किनेको भन्ने जानकारी नभए पनि जग्गाधनीको अनुरोधमा चैत ११ गते सिफारिस दिएको बताएका छन्।






