काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीको संयोजकत्वमा बनेको छानबिन समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष प्रतिबेदन बुझाएको हो ।
समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ ।
समितिका संयोजक भण्डारीका अनुसार छानबिन प्रक्रिया पूरा गरी प्रतिवेदन बुझाइएको छ। ‘हाम्रो तर्फबाट प्रक्रिया सम्पन्न गरेर प्रतिवेदन बुझाएका छौँ। अब बाँकी प्रक्रिया सम्बन्धित निकायबाट अघि बढ्छ,’ उनले भने ।
प्रतिवेदनमा गुरुङको मात्र १७ पेज लामो बयान समेटिएको छ । बाँकी २८ पेज आवश्यक कागजपत्र र प्रमाणसहित गरेर प्रधानमन्त्री शाहलाई बुझाएको प्रतिवेदन जम्मा ४५ पेज भएको समिति संयोजक भण्डारीको भनाइ छ ।
समितिले बयान, सम्पत्ति विवरण विश्लेषण तथा सम्बन्धित निकायसँगको परामर्शका आधारमा अनुसन्धान गरेको जनाएको छ।
गत २८ वैशाखमा मन्त्रिपरिषद्को निर्णयअनुसार गठित समितिमा भण्डारीसहित महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका थिए । अब महान्यायाधिवक्ता कार्यालयले प्रतिवेदन अध्ययन गरेपछि मात्रै सुधनले क्लिन चिट पाउने नपाउने थाहा हुनेछ । क्लिन चिट पाएमा गुरुङ पुनः गृहमन्त्री नियुक्त हुनेछन् ।








