काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर भएपछि वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। केही बैंकले ब्याजदर स्थिर राखे पनि व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर भदौको तुलनामा घटेको छ।

असोजका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशत कायम भएको छ। भदौमा यस्तो औसत दर ४.१३६ प्रतिशत थियो। संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर पनि भदौको ३.०८१ प्रतिशतबाट घटेर असोजमा ३.०६६५ प्रतिशतमा झरेको छ।

ADVERTISEMENT

बैंकहरूले सार्वजनिक गरेको दरअनुसार असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी प्रभु बैंकले ४.५५ प्रतिशत ब्याज दिने भएको छ। सानिमा, माछापुच्छ्रे र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

ADVERTISEMENT

नेपाल बैंक र कृषि विकास बैंकले अधिकतम ४.१५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत तथा एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, ग्लोबल आइएमई र हिमालयन बैंकले ४ प्रतिशत ब्याजदर तोकेका छन्।

नबिल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ४.२५ प्रतिशतमा ल्याएको छ। भदौमा यस्तो दर ४.५५ प्रतिशत थियो। एभरेस्ट बैंकले पनि दर घटाएर ३.५० प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७५ प्रतिशतमा झारेका छन्। कुमारी बैंकले ३.७६ प्रतिशतबाट घटाएर ३.७३ प्रतिशत कायम गरेको छ।

संस्थागत मुद्दति निक्षेपतर्फ सानिमा बैंकले ३.५१ प्रतिशतसम्म ब्याजदर तोकेको छ। अन्य बैंकहरूले संस्थागत निक्षेपमा २.७५ देखि ३.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।

बैंकहरूले निक्षेपको तुलनामा कर्जाको माग कमजोर रहेको अवस्थामा ब्याजदर घटाएका हुन्। कर्जाको माग अपेक्षित रूपमा बढ्न नसक्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको र निक्षेप तान्न ब्याजदर बढाउने प्रतिस्पर्धा कमजोर भएको देखिन्छ।

असोजमा धेरै बैंकले ब्याजदर स्थिर राखेका छन् भने केहीले व्यक्तिगत मुद्दति निक्षेपको दर घटाएका छन्। संस्थागत निक्षेपको ब्याजदरमा भने तुलनात्मक रूपमा कम परिवर्तन भएको छ।

बैंकहरूले हरेक महिनाको सुरुवातअघि मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गर्दै आएका छन्। असोजका लागि सार्वजनिक दरअनुसार बैंकअनुसार ब्याजदर फरक भए पनि समग्र औसत दर भने घटेको छ।