काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी हिरासतमा राखेको बताएका छन् ।

हाजिर जमानीमा प्रहरी हिरासतबाट मुक्त भएको केही घन्टामै ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको दाबी गरेका छन् । आफ्नो रिहाइका लागि आवाज उठाउने सबैलाई ओलीले धन्यवाद दिएका छन् ।

ADVERTISEMENT

‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।

ADVERTISEMENT

मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु,’ उनले भनेका छन्, ‘साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छ ।’

ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आफू केही दिन अस्पतालमै उपचारमा रहने पनि बताएका छन् । ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

ADVERTISEMENT

गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा दमन गरेको र ७६ जनाको हत्यामा नैतिक जिम्मेवार ठहर्याउँदै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न सिफारिस गरेको थियो । सोहीअनुसार बालेन सरकार बनेकै भोलिपल्ट ओली र लेखक पक्राउ परेका थिए ।