काठमाडौं । एमाले अध्यक्ष केपी ओली कोशी प्रदेशको मुख्यमन्त्रीमा नयाँ अनुहार अघि सार्ने निष्कर्षमा पुगेका छन् । केन्द्रमा एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहमतिपछि ओलीले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीको विकल्प खोज्ने निष्कर्ष निकालेका हुन् ।
शनिबारदेखि कोशीमा सरकारको नेतृत्व कार्कीकै हातमा रहने कि नयाँ अनुहारले अवसर पाउने भन्ने विषय राजनीतिक बहस बनेको छ।
शनिबार एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच केन्द्रमा भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले र कर्णाली र सुदूरपश्चिम नेकपाको भागमा परेको छ।
हाल मुख्यमन्त्री रहेका एमालेका केन्द्रीय सचिव कार्की नेतृत्वमै सरकार अघि बढ्ने सम्भावनासँगै प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोको नाम सम्भावित उत्तराधिकारीका रूपमा चर्चामा आएको छ।
नेतृत्व परिवर्तन हुने वा नहुने विषयमा औपचारिक निर्णय नभए पनि एमालेभित्र शक्ति सन्तुलन र भावी रणनीतिका हिसाबले बहस तीव्र बनेको छ।
ताप्लेजुङबाट निर्वाचित मेन्याङ्बो प्रदेश संसदीय दलमा कार्कीपछिको वरीयतामा छन्। पछिल्लो बजेट निर्माण प्रक्रियामा सरकारको आलोचना गर्ने सांसदहरूको नेतृत्व गरेका उनले निकटवर्तीसँग नेतृत्व परिवर्तनको सम्भावनाबारे संकेत गर्दै आएका छन्। एमाले अध्यक्ष ओलीले आइतबार बिहान गुन्डुस्थित निवासमा मेन्याङ्बोसँग छलफल गरेका छन् ।







