काठमाडौं । जेनजी आन्दोलनले सत्ता ढालेपछि १० दिनसम्म नेपाली सेनाको सुरक्षा घेराबाट बाहिर निस्किएलगत्तै एमाले अध्यक्ष केपी ओलीले फेरि उपदेश दिन थालेका छन् । आफ्नो निवास जलेपछि भक्तपुरको गुन्डुमा तीनवटा घर भाडामा लिएर बस्न थालेका ओलीले शुक्रबार संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै जेनजी पु्स्तालाई नै अर्ति उपदेश दिन थालेका हुन् ।

निवर्तमान प्रधानमन्त्री ओलीमा के कति कारणले जेनजी आन्दोलन उठ्यो र दुई दिनमै आफ्नो सत्ता ढाल्यो भन्ने सामान्य पश्चाताप र आत्मालोचनासमेत छैन । नेपालको राजनीतिमा कुनै घटना नभएको जस्तै सामान्य रूपमा उनले ओलीले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न अपिल गरेका छन् ।

ADVERTISEMENT

जेनजी आन्दोलनबाट बाध्य भएर राजीनामा दिएका ओलीले पहिलोपटक औपचारिक वक्तव्य जारी गरेका हुन् । जसमा विगतमा आफुहरूले बहादुरीपूर्वक लडेर संविधान जारी गरेको, राष्ट्रवादी काजी भीम मल्ल मारिएपछि मात्रै जनताले पश्चाताप गरेको भन्दै अब जेनजीले पनि आफूलाई हटाएकोमा पश्चाताप गर्ने धम्कीयुक्त सन्देश दिएका छन् ।

आफूहरूको कुशासनका कारण जेनजी आन्दोलन जन्मिएको र दुई दिनमै सत्ता ढालेकोबारे उनले कुनै उल्लेख गरेका छैनन् । बरु आन्दोलनकारीलाई ताकीताकी गोली हान्न नदिएको भन्दै स्वचालित हतियारबाट कसरी गोली हानियो भनेर उल्टै छानबिन गर्न माग गरेका छन् । जेनजी आन्दोलनको पहिलो दिन १९ जना मारिएका थिए । त्यसको भोलिपल्ट भदौ २४ मा उनले राजीनामा दिएका थिए । त्यसपछि नै देशले अकल्पनीय जनधनको क्षति बेहोरेको हो ।

ADVERTISEMENT

ओलीको सन्देशले उनले एमालेको नेतृत्व छाड्लान् भन्ने कसैलाई लागेको छैन । उनले शुभकामना सन्देश जारी गरेलगत्तै सामाजिक सञ्जालमा उनीविरुद्ध कमेन्ट र स्टाटसको बाढी नै लागेको छ । ‘केपी ओली माफी त के घृणा गर्दा घृणा शब्द पनि लज्जित हुने मानवताविरोधी अपराधी हुन् । यिनलाई अझै पनि आफूसँग जनतासामु आँखा जुधाएर बोल्ने नैतिकता छ भन्ने भ्रम छ। तर, इतिहासले डम्प गरिसकेको यो कुख्यात पात्रको एक शब्द पनि सुन्ने तागत आमजनमा छैन। फौजदारी अपराधको जघन्यताभन्दा माथि आमनरसंहारसम्मै उक्लेर गरेको उनको अपराध कुनै स्पष्टीकरणले पखाल्दैन।चेतना होस्,’ एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान दिवसको दिन १० हजार मानिसको उपस्थितिमा ओलीलाई सार्वजनिक गराएर कार्यक्रम मनाउने दाबी गरेका थिए । बस्नेतले ओलीलाई सेनाको सुरक्षा घेराबाट बिहीबार निकालेर आफ्नो गाउँ गुन्डुमा भाडाको घर खोजेर राख्न सफल भए पनि पार्टी कार्यालय च्यासलमा ल्याउन भने सकेनन् ।

ओली अहिले पनि जनताको टार्गेटमा छन् । जेनजी आन्दोलनमा जलेको एमाले कार्यालयमा फेरि पनि ठूलो दुर्घटना हुनसक्ने जोखिम रहेको भन्दै सुरक्षा अंगले ओलीलाई च्यासल जानबाट रोकेको स्रोतले बतायो ।