काठमाडौं । प्रधानमन्त्री केपी ओलीले फेरि एकपटक पूर्वराजा ज्ञानेन्द्र शाहमाथि तीखो प्रहार गरेका छन् । उनले ज्ञानेन्द्र असली राजा नभएको पनि बताएका छन्।
आइतबार बालुवाटारमा सूर्यप्रसाद श्रेष्ठको पुस्तक ‘लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास’ लोकार्पण समारोहमा उनले शाहलाई कुशको राजाको रूपमा स्थापना गरेको बताए।

‘दरबार हत्यकाण्ड भनेको सानो कुरा हो ? त्यसपछि एउटा कुशको राजा स्थापना गरेको भन्छु मैले। त्यो असली राजा नै होइन,’ उनले भने, ‘राजा मारियो, रानी मारिए, युवराज मारिए। यताउता नभएको भाइ चाहिँ खोजेर ल्याएर बनाएको छ। दरबार हत्याकाण्डको परिकल्पना गरेको छ। अनि त्यस बाटोबाट आएको राजाले जनताको अधिकार खोस्छ।’

ADVERTISEMENT

पूर्वराजा शाहले कांग्रेस सभापति शेरबहादुर देउवामाथि मुद्दा चलाउन खोजेको पनि उनले बताए। ‘एउटा कठपुतली आयोग बनाएर अख्तियार बाँकी छोडेर, शेरबहादुर देउवामाथि मुद्दा चलाउँदै थियो। अख्तियारले चलाएर नहुने, यो सबै २००७ सालमा राजा फर्काएको परिणाम हो,’ उनले भने, ‘दिल्ली गइसकेका थिए, उतै बस्न दिएको भए भइहाल्थ्यो नि। राजा फर्काउँदैनौँ, अरु कुरामा सम्झौता गर्छौं भनेको भए पनि हुन्थ्यो होला।’

ADVERTISEMENT

ओलीले नेपालको संविधानले सुनिश्चित गरेको समावेशिता राजनीतिक पदमा पुग्नका लागिमात्रै रहेको बताए । उनले समावेशिता कुनै कामको कुरा नरहेको दाबी गरे । समावेशिता भन्दा पनि प्रत्येक व्यक्तिले आफ्नो शिक्षा, सीप र क्षमता विकास गर्नुपर्ने उनको भनाइ छ ।

‘यो समावेशिता भनेको पोलिटिकल पदमा पुग्नका लागि मात्रै हो । कुनै कामको कुरा होइन यो । डाक्टर, इन्जिनियर भए, राम्रो पढे भने महिलाहरु आफैं अगाडि सरिहाल्छन् । आफैं त्यहाँ पुगिहाल्छन् । त्यसकारण एजुकेशन, स्किल र क्यापासिटी बिल्डिङ मुख्य कुरा, दीगो कुरा भनेको त्यो हो,’ उनले भने ।

ADVERTISEMENT

आफ्नो पहिलो आमनिर्वाचन २०४८ सालको स्मरण गर्दै उनले भने, त्यो बेला मेरो निर्वाचनका लागि साथीहरूले चन्दा उठाएर जम्मा ४३ हजार रुपैयाँ जम्मा गर्नुभएको थियो। त्यसमध्ये २१ हजार निर्वाचनमा खर्च भयो, गाडीबाट खसेर घाइते भएका दुई जना साथीहरूको उपचारमा १२ हजार खर्च भयो र बाँकी १० हजार रुपैयाँ चुनावपछि पार्टीको कोषमा बचत रह्यो।’