काठमाडौं । जेनजी आन्दोलनपछि १० दिनसम्म सेनाको सुरक्षा घेराबाट बाहिरिएका एमाले अध्यक्ष केपी ओली भक्तपुरको गुन्डुमा बसेर शक्ति पुनःस्थापनाको प्रयासमा लागेका छन् । युवाको आन्दोलनपछि नेतृत्व हस्तान्तरणको आवाज तीव्र रूपमा उठे पनि ओलीले त्यसलाई कुनै चासो दिएका छैनन् । बरु उनी अहिले सबै नेतालाई वन टु वन बोलाएर थर्काउन थालेका छन् । जसले गर्दा भविष्य भएका नेताहरु डराएर बोल्नसमेत सकेका छैनन् ।

ओलीले तत्काल पार्टी बैठक पनि नबोलाउने रणनीति बनाएका छन् । स्थिति केही साम्य भएपछि मात्रै बैठक डाक्ने, बरु त्यतिन्जेल पार्टी पदाधिकारीदेखि जिल्ला तहका नेताहरूसम्मलाई भेट्ने उनको योजना छ । पार्टीभित्रको असन्तोषलाई भेटघाटबाट मत्थर पार्ने प्रयास भइरहेको स्रोतको भनाइ छ । यही क्रममा उनले वरिष्ठ उपाध्यक्षसहितका अधिकांश पदाधिकारीहरूसँग छलफल गरिरहेको स्रोतको भनाइ छ ।

ADVERTISEMENT

आइतबार मात्रै उनले काठमाडौं जिल्ला कमिटीको टोलीसँग पनि संवाद गरेका छन् । प्रायःसँग उनले पछिल्लो अवस्था आउनुमा देशभित्रको मात्रै नभएर बाहिरी फ्याक्टरको धेरै भूमिका रहेको बताउँदै त्यसमा आफूले नेतृत्व छाड्नुपर्ने मनासिव आधार नभएको जिकिर गरेका छन् । भेटघाट गरेका एक नेताका अनुसार विभिन्न भूमिका बाँध्दै ओलीले पार्टीभित्र तत्काल आफ्नो विकल्प नरहेको पनि सुनाउने गरेका छन् । कतिसम्म भने एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसमेत ओलीको थर्काइका अगाडि बोल्न डराएको नेताहरुको भनाइ छ ।

तर एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले भने ओलीकै नेतृत्वमा आगामी निर्वाचनमा जाँदा पार्टी नै सकिने हाकाहाकी बताउने गरेकी छन् । ‘राजनीतिक रूपमा हामी यति कमजोर भएछौँ, यति ‘इन्डिपेन्डेट’जस्तो बनाइएको रहेछ । हामी राजनीतिक रूपमा बोल्न छाड्यौँ । पार्टी यस्तो ठाउँमा पुगिसक्यो कि अब पनि नबोल्ने हो भने एमाले उठ्नै गाह्रो हुनेछ,’ उनले भनिन्, ‘यही नेतृत्वलाई बोकेर जाने हो भने अब कसरी सफल भइन्छ भन्ने होइन, कसरी असफल भन्नेमा पुगिन्छ । फेरि ओलीलाई लिएर निर्वाचनमा त गइएला, तर फर्किएर आउने अवस्था छैन । अहिले अलिअलि बचेको पार्टी पनि सकिन्छ । ओलीले छाड्नु नै एमालेको हितमा हुन्छ । तत्काल बैठक बोलाएर यसबारे निर्णय लिनुपर्छ ।’

ADVERTISEMENT

गुन्डु एमाले नेता महेश बस्नेतको आधार इलाका हो । बस्नेतले ओलीको विकल्प नभएको हाकाहाकी बताउने गरेका छन् । जेनजी आन्दोलनमा आफ्नो घर जलेपछि आक्रोशित बस्नेतले ओलीलाई अहिले आफ्नो वशमा राखिसकेका छन् । ओली पनि त्यही बलमा शक्ति आर्जनमा जुटेको नेताहरुको भनाइ छ । ओली निवर्तमान प्रधानमन्त्री हुन् । जेनजी आन्दोलनको पहिलो दिन १९ जना मारिएकामा उनी अनुसन्धानको घेरामा छन् । सरकारको नेतृत्व गरेका हुनाले उनी भावी अभियुक्तसमेत हुन् ।