काठमाडौं । नेपाली कांग्रेस विभाजन नहुने अवस्था बनेको भन्दै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का इतर पक्षले बोलाएको राष्ट्रिय भेलामा जान तयार भएका छन् ।
पार्टी विभाजन नहुने अवस्था बनेको निष्कर्षसहित खड्का पूर्वसभापति शेरबहादुर देउवा पक्षले शुक्रबारदेखि बोलाएको भेलामा जान तयार भएका हुन् ।
यसअघि खड्काले आफूनिकट नेताहरूलाई भेलामा सहभागी नहुने बताउँदै आएका थिए । पार्टी विभाजनसम्मको तयारी गरेर भेला आयोजना गरिएका कारण उनले भेलामा सहभागी नहुने बताएका थिए । त्यसपछि खड्काले सम्हाल्दै आएको देउवा पक्षको नेतृत्व पूर्वमहामन्त्री शशांक कोइरालाले सम्हालेका छन् । भेला आयोजक समितिका संयोजकसमेत कोइराला नै छन् ।
सर्वोच्च अदालतले बिहीबार कांग्रेस नेतृत्वसम्बन्धी विवादमा पुनरावलोकनको अनुमति दिएपछि पार्टी भेलाबाट पार्टी विभाजन नहुने अवस्था बनेको भन्दै खड्काले जाने मनस्थिति बनाएको बताइन्छ । भेलामा सहभागी हुन बुधबार बिहान नेता शशांक कोइरालाले खड्कालाई निवासमै गएर निमन्त्रणा दिएका थिए ।
नेता एनपी साउदसहित गएका कोइरालाले आगामी २९–३१ सम्म हुने भेलामा सहभागी हुन र २८ गते पूर्वसभापति देउवालाई स्वागत गर्न विमानस्थलमा उपस्थित हुन आग्रह गरेका थिए ।
देउवा समूह पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्ने अन्तिम तयारीमा पुगेपछि खड्का चुनदेवीस्थित सम्पर्क कार्यालयसमेत जान छाडेका छन् ।
कांग्रेस नेता शेखर कोइराला पनि भेलामा सहभागी हुने भएका छन् । उनले मंगलबार नै आफू भेलामा सहभागी हुने जानकारी आफ्नो निजी सचिवालयमार्फत जानकारी गराएका थिए







