काठमाडौं । नेपाली कांग्रेसको नियमित १५औं महाधिवेशन भदौ अन्तिम साता हुने भएको छ । कांग्रेस सभापति गगन थापाले आगामी भदौ २४ देखि २६ सम्म १५औं महाधिवेशन गर्ने घोषणा गरेका हुन् ।
कांग्रेसले महाधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरेको छ । चैत २१ गतेदेखि नै क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक सुरु हुने भएको छ । वैशाख १ मसान्तसम्म सबै वडामा सदस्यता अद्यावधिक गर्ने, जेठ १ देखि १५ सम्म जिल्लामा पठाउने, २५ गतेसम्म केन्द्रमा सदस्यता पठाउने र २०८३ असार १५ सम्म केन्द्रले छानबिन गरी अवधि टुंगो लगाउने प्रस्ताव गरेका छन् ।
यस्तै, साउन ६ गते गाउँपालिका र नगरपालिकाका ६७४३ वडा अधिवेशन, गाउँ–नगरपालिका अधिवेशन साउन १२, प्रदेश तथा क्षेत्रीय अधिवेशन साउन २२ र जिल्ला अधिवेशन साउन ३० गते हुने कार्यतालिका ल्याइएको छ ।
सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले विशेष महाधिवेशनमा सहभागी भएका र नभएका सबैसँग संवाद गर्ने पनि बताए । थापाले पार्टी शुद्धीकरणको उपयुक्त समय आएको बताए । उनले पार्टीभित्र अन्तर्घात गर्ने नेताहरुको पहिचान गरेर अब संगठनलाई शुद्धीकरण गर्ने बताएका हुन् ।
निर्वाचनपछि पहिलोपल्ट पार्टी मुख्यालय पुगेका थापाले संगठन पुनर्गठनसँगै बलियो प्रतिपक्षको भूमिका निभाउने पनि बताए । ‘हामीले जति अपेक्षा गरेको थियौँ, त्यति मत पाउन सकेनौँ, अब हाम्रो भूमिका फेरिएको छ’, उनले भने, ‘जति पनि साथीहरु सदनमा जाँदै हुनुहुन्छ, उहाँहरुले के कुरा बिर्सनुहुन्न भने सत्तापक्ष जति धेरै बलियो हुन्छ, प्रतिपक्षमाथि झन् बलियो बन्नुपर्ने जिम्मेवारी हुन्छ ।’
कांग्रेस संस्थापन नियमित महाधिवेशनमा जुटे पनि शेरबहादुर देउवा गुट भने अदालतको आदेश कुरेर बसेको छ । देउवा गुटले सर्वोच्च अदालतले आफ्नो समूहलाई कांग्रेसको आधिकारिकता दिने आशा गरेको छ ।








