काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना शनिबार साँझ साढे ७ बजेदेखि सुरु भएको हो।

ADVERTISEMENT

मतगणनाअघि निर्वाचन समितिले उम्मेदवारहरूसँग छलफल गरेको थियो। त्यसपछि उम्मेदवारकै रोहवरमा मतपेटिका खोलेर गणना प्रक्रिया अघि बढाइएको हो।

ADVERTISEMENT

निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मतगणना भइरहेको छ। मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्नुका साथै गणनामा सहभागी हुने प्रतिनिधिहरूको नाम संकलन गरिएको छ।

उपसभापति र महामन्त्री पदको मतगणना तीन स्थानमा एकैसाथ गरिनेछ। प्रत्येक मतगणना स्थलमा हरेक उम्मेदवारका एक–एक जना प्रतिनिधि राख्न दिने सहमति भएको छ।

ADVERTISEMENT

यसअघि शुक्रबार राति सभापति पदको मतगणना सम्पन्न भएको थियो। सभापतिमा गगनकुमार थापा श्यामकृष्ण खड्गीलाई पराजित गर्दै निर्वाचित भएका थिए। थापाले करिब ९४ प्रतिशत मत प्राप्त गरेका थिए।