काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सोमबार १९ जना केन्द्रीय सदस्य मनोनीत गरेका विषयमा आफ्नो असहमति रहेको जनाएका छन् । कोइरालाले मंगलबार आफूनिकट नेताहरुको भेलामा सभापति थापाले कसैसँग सल्लाहविनै केन्द्रीय सदस्य मनोनीत गरेको विषयमा असहमति जनाएका हुन् ।
उनले केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको निष्कर्ष निकालेका छन् । कोइरालाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । जहाँ उनले पाँचबुँदे असहमति दर्ज गवरेका छन् ।
कोइरालाले पार्टीको समग्र एकता नभई राष्ट्रिय राजनीतिमा सक्रिय र सार्थक भूमिका खेल्न नसक्ने उल्लेख गरेका छन् । उनले पार्टीको निर्णायक भूमिकामा बस्ने नेताहरु सामूहिक भावना र साझा विचारवाट अगाडि बढ्ने अपेक्षा गरेका छन् ।
कांग्रेस विभाजित भएर अघि बढ्दा के कस्ता हण्डर र ठक्कर खानुपरेको थियो भन्ने स्मरण गराउँदै कोइरालाले आसन्न स्थानीय र प्रदेश निर्वाचनमा पनि कांग्रेसले संघीय निर्वाचनकै जस्तो आमजनताको भरोस जित्न असफल भएमा कांग्रेसको औचित्यमाथि नै प्रश्न उठ्ने उनको भनाइ छ ।
‘कांग्रेससँग आबद्ध हजारौं युवा, संघर्षशिल, त्यागी समूहको राजनीतिक भविष्य र राष्ट्र निर्माणमा तिनको भूमिकालाई सुनिश्चित तब मात्र गर्न सकिन्छ जब हामी भावनात्मक रुपले एकतावद्ध हुँदै राजनीतिक रुपले नागरिक मैत्री पार्टी बनाउने दिशातर्फ अगाडि बढछौं । मलाई विश्वास छ– पार्टीको निर्णायक भूमिकामा बस्ने साथीहरु सामूहिक भावना र साझा विचारवाट अगाडि बढनु हुनेछ,’ कोइरालाले भनेका छन् ।
कोइरालाले कांग्रेसको १४ औं महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५औं महाधिवेशन (एकता महाधिवेशनका रुपमा) सम्पन्न गरिनुपर्ने र एकताको मुख्य आधार त्यही हुनुपर्ने जिकिरसमेत गरेका छन् । सभापति थापाले सोमबार देउवा समूहबाट १२ र कोइराला समूहबाट सात गरी १९ जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
शेखरका विचार
१. मेरो सामान्य सोच के छ भने– पार्टीको समग्र एकता नभै हामी राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खेल्न सक्दैनौं । विगतको निर्वाचन परिणामले हामीलाई धेरै ठूलो शिक्षा दिएको हुनुपर्छ । कांग्रेसको समग्र एकता नै राष्ट्रको आवश्यकता हो । यसमा पद र व्यक्तिको कुरा गौंण हुन जान्छ । कांग्रेसको इतिहास र परम्परा यही हो ।
२. विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हण्डर मात्र खानु परेन, आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुग्यो । हामीले भर्खरै सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको मत परिणामले हामीलाई झस्काएको मात्रै छैन, बरु नयाँ सोच, दृष्टिकोण र साझा भावबाट अगाडि नबढी नहुने प्रेरणा पनि दिएको हुनुपर्छ ।
३. हाम्रा अगाडि स्थानीय तह र प्रदेशको निर्वाचन छ । यसमा पनि हामी आम नागरिकको भरोसा जित्न असमर्थ भएमा राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्य माथि प्रश्न उठने खतरा म देख्दैछु ।
४. कांग्रेससँग आबद्ध हजारौं युवा, संघर्षशिल, त्यागी समूहको राजनीतिक भविष्य र राष्ट्र निर्माणमा तिनको भूमिकालाई सुनिश्चित तब मात्र गर्न सकिन्छ जब हामी भावनात्मक रुपले एकतावद्ध हुँदै राजनीतिक रुपले नागरिक मैत्री पार्टी बनाउने दिशातर्फ अगाडि बढछौं । मलाई विश्वास छ– पार्टीको निर्णायक भूमिकामा बस्ने साथीहरु सामूहिक भावना र साझा विचारवाट अगाडि बढनु हुनेछ ।
५. आज संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा चौतर्फी हाम्रा आदर्श, मूल्य र सिद्धान्तमाथि आक्रमण भैरहँदा पनि हामी गुट उपगुटमा विभाजन हुनु उदेकलाग्दो अवस्था हो, यसको अन्त्य जति छिटो हुन्छ नेपालको लोकतान्त्रिक पद्धतिले आफ्नो मौलिक मूल्य त्यति छिटो भेट्छ ।
अन्त्यमा,
हिजो बैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५ औं महाधिवेशन ९एकता महाधिवेशनका रुपमा० सम्पन्न गरिनुपर्छ । कांग्रेस एकताको मुख्य आधार यो हुनुपर्छ ।








