काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा नयाँ नाम दर्ता तथा अद्यावधिकसम्बन्धी कार्य सम्पन्न गर्दै असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा कायम रहेको अन्तिम मतदाता नामावलीमा महिला ९२ लाख ४० हजार १३१, पुरुष ९६ लाख ६३ हजार ३५८ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए।

ADVERTISEMENT

उक्त निर्वाचन सम्पन्न भएपश्चात् आयोगले २०८२ चैत २२ गतेदेखि नियमित रूपमा मतदाता नामावलीमा नाम दर्ता गर्ने, विवरणमा रहेका त्रुटि सच्याउने, ठेगाना स्थानान्तरण गर्ने तथा मृत्यु भएका मतदाताको नाम हटाउनेलगायतका कार्य सञ्चालन गर्दै आएको थियो।

ADVERTISEMENT

यसै क्रममा आयोगको २०८३ साउन १५ गतेको निर्णयबमोजिम २०८३ भदौ १५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका तथा सोही मितिसम्म १८ वर्ष उमेर पूरा गरेका व्यक्तिहरूलाई समावेश गरी असोज १ गते प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिएको थियो।

उक्त प्रारम्भिक मतदाता नामावलीमा महिला ९४ लाख २७ हजार ६५०, पुरुष ९८ लाख ६७ हजार ९० र अन्य २२१ गरी कुल १ करोड ९२ लाख ९४ हजार ९६१ जनाको विवरण समावेश थियो।

ADVERTISEMENT

२०८२ चैत २२ देखि २०८३ भदौ १५ गतेसम्मको अवधिमा १८ वर्ष उमेर पूरा गरेका ४ लाख ३० हजार ३५२ जनाको नाम नामावलीमा समावेश गरिएको थियो। नियमित अद्यावधिक प्रक्रियाबाट मृत्यु, दोहोरो नाम तथा नागरिकता त्याग वा रद्दका कारण ३९ हजार ८० जनाको नाम हटाइएको थियो। जसबाट अघिल्लो निर्वाचनको अन्तिम नामावलीमा खुद ३ लाख ९१ हजार २७२ मतदाताको नाम थप गरी प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो।

अद्यावधिकका लागि प्रकाशित प्रारम्भिक नामावलीउपर कानुनबमोजिम दाबीविरोध तथा विवरण जाँचबुझ गरी आवश्यक संशोधन र अद्यावधिक कार्य सम्पन्न गरिएको छ। सो क्रममा मृत्यु भएका ४५ हजार ३२२ जना र दोहोरो नाम, नागरिकता त्याग वा रद्द तथा दाबी विरोधलगायतका कारणबाट थप १ लाख ५८ हजार २६४ जना गरी कुल २ लाख ३ हजार ५८६ जनाको नाम हटाइएको छ।

यसरी नामावली संशोधनपछि कायम भएको अन्तिम मतदाता नामावलीमा कुल १ करोड ९० लाख ९१ हजार ३७५ जना मतदाता पुगेका छन्। जसमध्ये पुरुष ९७ लाख ६९ हजार ८२५, महिला ९३ लाख २१ हजार ३३६ र अन्य २१४ जना रहेका छन्। अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनको तुलनामा हालको अन्तिम नामावलीमा १ लाख ८७ हजार ६८६ जना मतदाता थपिएका छन्।

प्रकासित अन्तिम मतदाता नामावलीलाई सर्वसाधारणको सहज पहुँचका लागि आयोगको आधिकारिक वेबसाइट www.election.gov.np मा राखिएको छ। यसका साथै सातै प्रदेशगत, जिल्लागत, निर्वाचन क्षेत्रगत तथा स्थानीय तहगत सङ्ख्यात्मक विवरणसमेत वेबसाइटमा सार्वजनिक गरिएको छ।