काठमाडौँ । मतदाता नामावलीमा नाम दर्ता गर्न गर्नेहरुको भिड बढेको छ । अत्यधिक चापपछि दर्ता स्थलमा दुई सिफ्टमा काम थालिएको छ ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नाम दर्ता गर्नेहरु बढेपछि आवश्यक व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक आठ सय भन्दा धेरै नाम दर्ता भइरहेका जिल्लामा ६–६ घण्टाका दरले दुई सिफ्टमा  दैनिक १२ घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको हो ।

ADVERTISEMENT

काठमाण्डौ उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापको आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको आयोगको भनाइ छ ।

ADVERTISEMENT

आउँदो फागुन २१ को चुनावका लागि मतदाता नामावली दर्ताको समयसीमा सकिनै लाग्दा दर्ता गर्नेको संख्या बढेको हो । गएको असोज ९ देखि शुरू भएको मतदाता नामावली दर्ताको समयसीमा सकिन अब चार दिन मात्रै बाँकी छ ।

निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा सदस्यको चुनावमा मतदान गर्नका लागि आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकलाई मात्र मतदाता नामावलीमा नाम दर्ता गरिदिन अपिल समेत गरेको छ ।

मतदाता नामावली संकलनमा चाप बढेको र अनलाइनमा मतदाता नामावली दर्ता गर्न असहज भएको गुनासोपछि हिजो मात्रै प्रधानमन्त्री सुशीला कार्कीले सहजीकरणका लागि निर्वाचन आयोगसँग आग्रह समेत गरेकी थिइन।

उनले यो कात्तिक मसान्तसम्मको समय पुनरावलोकन गर्न पनि निर्वाचन आयोगलाई अनुरोध गर्नुभएको छ । समय थपबारे निर्वाचन आयोगले अहिलेसम्म निर्णय गरिसकेको छैन ।