धनगढी। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ। फागुन १२ देखि १४ गतेसम्म सञ्चालन गरिएको शिविरमार्फत ६५ जना जलनपीडितले निःशुल्क उपचार सेवा पाएका छन्।
नबिल बैंक लिमिटेड,सुष्मा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा सम्पन्न शिविरमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बिरामीहरू उपचारका लागि आएका थिए। लामो समयदेखि उपचार र शल्यक्रियाको पर्खाइमा रहेका तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरू विशेष रूपमा लाभान्वित भएका जनाइएको छ।

शिविरका क्रममा २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै विशेषज्ञ चिकित्सकद्वारा शल्यक्रिया गरिएको थियो भने जटिल प्रकृतिका १८ जना बिरामीलाई थप उपचारका लागि काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको छ।
सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रा. डा. ईश्वर लोहनीको नेतृत्वमा गएको विशेषज्ञ टोलीले शिविरमा सेवा प्रदान गरेको थियो। उनले नेपालमा जलनसम्बन्धी समस्या गम्भीर रहेको उल्लेख गर्दै समयमा उपचार नपाउँदा घाउ जटिल बन्दै जाने बताए। शिविरले जलनपीडितलाई उचित उपचारबारे सचेत गराएको र विपन्न वर्गलाई राहत मिलेको उनको भनाइ थियो।
शिविरमा सेवा लिएकी दुर्गा पाण्डेले पाँच वर्षीया छोरीको घाँटीमा दुई वर्षअघि तेलले पोलेर बनेको घाउको सफल शल्यक्रिया भएको बताइन्। “विशेषज्ञ डाक्टरबाट सफल उपचार पाउँदा खुशी लागेको छ,” उनले भनिन्। त्यसैगरी आगो ताप्ने क्रममा दुवै हात जलेका ४२ वर्षीय भरत लुहारलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिमका दुर्गम क्षेत्रका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरिएको बताए। “जलनका बिरामीहरूले अझै पनि उचित उपचार नपाउने अवस्था छ। शिविरमार्फत पीडितलाई प्रत्यक्ष राहत पुगेको छ,” उनले भने। आगामी दिनमा अन्य प्रदेशमा पनि यस्ता शिविर सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जलन उपचार संवेदनशील र अत्यावश्यक सेवा भएकाले यस्ता शिविरले ठूलो सहयोग पुगेको बताए। उनले भविष्यमा पनि सहकार्यको अपेक्षा रहेको उल्लेख गरे।
शिविरसँगै अस्पतालमा आधारभूत जलन उपचारसम्बन्धी तालिम पनि सञ्चालन गरिएको थियो। सुष्मा कोइराला मेमोरियल अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. राजु भण्डारीले करिब ५० जना डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई तालिम दिएका थिए। जलनको शल्यक्रियापछि फलोअप उपचार प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको छ।
नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।







