धनगढी । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा डिभिजन वन कार्यालयका कर्मचारीले खुद्रा सामान बिक्रीका लागि प्रयोग हुँदै आएको टेम्पो भिरबाट खसालेको आरोप लागेको छ। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ बासपानीमा सडक छेउमा राखिएको टेम्पो वन कर्मचारीले भिरमा फालेको बताइएको हो। स्थानीय धनादेवी धामीले उक्त टेम्पोमार्फत खुद्रा सामान बिक्री गर्दै जीविका चलाउँदै आएकी थिइन्।
धामीका अनुसार वन कर्मचारीले टेम्पोबाट सामान झारेपछि टेम्पो घर लैजान दिन अनुरोध गर्दा पनि नमानी भिरमा खसालिएको हो। घटनापछि स्थानीयस्तरमा आलोचना भइरहेको छ।
यता डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने सडक अतिक्रमण हटाउने क्रममा पटक–पटक चेतावनी दिँदा पनि अटेरी गरेपछि कारबाही गरिएको दाबी गरेका छन्। उनका अनुसार टेम्पो पुरानो र सडकमा व्यवसायका रूपमा प्रयोग गरिएको थियो।
उनले कर्मचारीमाथि गालीगलौज भएको कारण आवेशमा घटना भएको हुन सक्ने बताएका छन्। वन कार्यालयले हालसम्म राजमार्ग क्षेत्र अतिक्रमण गरेर बनाइएका ४७ संरचना हटाइसकेको जनाएको छ।








