भजनी (कैलाली)। हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकखण्डको निर्माण कार्य समयमै सम्पन्न नहुँदा स्थानीय नागरिकले निकै सास्ती खेप्नुपरेको छ।वि.सं. २०७७ मा तीन प्याकेजमा सुरु गरिएको २९ किलोमिटर सडक निर्माणमध्ये हालसम्म दुई प्याकेजको काम सम्पन्न भए पनि टीकापुरको अस्नेहरीदेखि खक्रौलासम्मको ११ किलोमिटर सडक पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन।
निर्माण कार्यको ढिलासुस्तीका कारण सडकमा उड्ने धुलो र थुपारिएका गिट्टीले आवतजावतमा समस्या भएको स्थानीयको गुनासो छ।स्थानीय निरा काफ्लेले धुलोका कारण दैनिक जीवन प्रभावित भएको बताइन्।उनले भनिन्, “कार्यालय पुग्दासम्म लुगा र अनुहार धुलोले भरिन्छ। सडकमा गिट्टी हालेर महिनौँदेखि छोडिएको छ, गाडी चलाउन निकै गाह्रो हुन्छ।”
सडक आसपास बसोबास गर्ने नागरिक गर्मीयाममा धुलो र वर्षायाममा हिलोका कारण थप समस्यामा परेका छन्।स्थानीय सुन्दरलाल चौधरीले सडकको दुर्दशाले स्वास्थ्यमा असर र दुर्घटनाको जोखिम बढाएको बताए।उनले भने, “गाडी गुड्दा उड्ने धुलो घरभित्रसम्म पुग्छ, खानेकुरामा मिसिन्छ। पटकपटक ताकेता गर्दा पनि कसैले ध्यान दिएको छैन।”
हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यान्वयन कार्यालय धनगढीका इन्जिनियर प्रमोद चौधरीका अनुसार उक्त आयोजनाको सम्झौता २०७७ असार १४ गते भएको थियो।२०७९ पुस १३ गतेसम्म सम्पन्न गर्नुपर्ने आयोजना तीनपटक म्याद थप गर्दा पनि पूरा हुन सकेको छैन। अन्तिमपटक थपिएको म्यादसमेत गत फागुन २५ गते सकिएको उनले जानकारी दिए।रु ३३ करोड २० लाख ६६ हजार ६३० लागतमा निर्माण भइरहेको यो सडकको जिम्मा रायमाझी लाग्वा जगदम्बा जेभीले लिएको छ।कम्पनीका निर्देशक भरत रायमाझीले विगतमा अर्को ठेकेदारमार्फत काम गराउँदा ढिलाइ भएको स्वीकार गर्दै अब कम्पनी आफैं सक्रिय भएर काम सम्पन्न गर्ने बताए।
त्यस्तै टीकापुर नगरपालिका–७ सत्तीदेखि भजनी नगरपालिका–३ ठेकिपुरसम्मको साढे १० किलोमिटर सडकको अवस्था पनि निकै खराब रहेको छ।चार प्याकेजमा ठेक्का सम्झौता गरिएको यस सडकको तेस्रो प्याकेजसम्मको काम सम्पन्न भए पनि समग्र प्रगति ५० प्रतिशत मात्र रहेको जनाइएको छ।यस खण्डको निर्माण जिम्मा कालिका जोशी जेभीले रु ३२ करोड ६२ लाख ३९ हजार ६३८ मा लिएको थियो।
कम्पनीका निर्देशक गणेश जोशीले विगतमा भुक्तानी समस्याका कारण निर्माणमा ढिलाइ भएको बताए।स्थानीयले निर्माण कार्य तत्काल गति दिन र सडकलाई छिटो सञ्चालनयोग्य बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।





