काठमाडौं । कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा एक महिलाको टेम्पो भिरबाट फालिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले वन अधिकृतसहित १० जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार आइतबार वन कार्यालयसँग सम्बन्धित कर्मचारी तथा अन्य संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ। हाल जिल्ला प्रशासन कार्यालय कैलालीमा घटनासम्बन्धी छलफल जारी रहेको जनाइएको छ।
कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयमा सम्बन्धित पक्षबीच वार्ता भइरहेको छ। उनले छलफल सकारात्मक निष्कर्षमा नपुगे र पीडितबाट औपचारिक जाहेरी प्राप्त भए कानुनअनुसार मुद्दा दर्ता गरी प्रक्रिया अघि बढाइने बताए।
प्राप्त जानकारीअनुसार कैलालीकी धनमाया धामीले लामो समयदेखि गोदावरी नगरपालिका–४ बसपानी क्षेत्रको जंगल आसपास आफ्नो टेम्पोमार्फत विभिन्न सामान बिक्री गर्दै आएकी थिइन्। सोही क्रममा उनको टेम्पोलाई भिरबाट फालिएको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक ध्यानाकर्षण गराएको हो।
घटनाको वास्तविकता, संलग्न व्यक्तिको भूमिका तथा क्षतिको मूल्याङ्कनबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रशासनले पीडितलाई न्याय दिलाउने र घटनामा संलग्नमाथि आवश्यक कानुनी कारबाही गरिने जनाएको छ।








