कैलाली। मध्याह्नको चर्को गर्मी र तातो हावाबीच भजनी नगरपालिका–३ पकरियापुरका ४० वर्षीय मानबहादुर चौधरी भने विपद् पूर्वतयारी अभ्यासमा व्यस्त थिए । दोस्रो कार्यकालका बढघर (भलमन्सा) रहेका चौधरीले नेतृत्व गरिरहेको समुदायमा ६२६ घरधुरी आबद्ध छन् ।
सार्वजनिक सुरक्षित आश्रयस्थलमा राजनीतिक कार्यक्रम चलिरहे पनि उनी त्यता गएका थिएनन् । “भाषण सुन्न गएर के पाउनु ? विपद् पर्दा भाषण गर्ने जोगाउन आउँदैनन्, आफैँले आफ्नाको सुरक्षा गर्नुपर्छ,” उनले भने ।
त्यसै समयमा नेपाल रेडक्रस सोसाइटी र भजनी नगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको विपद्को समयमा नसर्ने रोगसम्बन्धी अत्यावश्यक हेरचाह ‘पेन डी प्याकेज’ को कृत्रिम घटना अभ्यास जारी थियो । अभ्यासमार्फत बाढी तथा डुबानका बेला अस्थायी आवास निर्माण गर्ने, नसर्ने रोग भएका व्यक्तिलाई सुरक्षित राख्ने तथा उपचार सेवा निरन्तरता कसरी दिने भन्नेबारे पूर्वतयारी गरिएको थियो ।
बाँसका टेका लगाउँदै रेडक्रसको चिह्न अंकित तारपोलिन मिलाइरहेका चौधरीले भने, “बाढी नआउँदै यस्तो अभ्यास गर्दा पछि सजिलो हुन्छ ।” उनका अनुसार कन्द्रा, मोहना, काँढा, पथरैया तथा कर्णाली नदीले हरेक वर्ष डुबान र कटानको समस्या ल्याउने गरेका छन् ।
उनकी श्रीमती ब्रेफानी चौधरी भने समुदायमा पूर्वसूचना ‘माइकिङ’ गर्न व्यस्त थिइन् । उनले नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त तालिमका आधारमा विपद् सूचना समुदायमा कसरी पु¥याउने भन्ने सीप सिकेकी छन् ।
जल तथा मौसम विज्ञान विभागबाट मौसम पूर्वानुमान सूचना प्राप्त हुनासाथ उनी ‘माइक’ बोकेर गाउँ निस्किएकी थिइन् । उनले स्थानीय मातृभाषामै नदीमा पानीको बहाव बढेको, डुबानको सम्भावना रहेको र सतर्क रहन आग्रह गर्दै सूचना प्रवाह गरिन् । यसपटक उनले नसर्ने रोगका बिरामीलाई लक्षित सन्देशसमेत थपेकी थिइन् ।
“नसर्ने रोग लागेका व्यक्ति र हेरचाह गर्नेले नियमित औषधिको सुनिश्चितता गर्नुहोला,” उनले दोहोर्याउँदै सूचना प्रसार गरिन् ।
नगरपालिकाले ‘माइकिङ’ नपुग्ने स्थानमा बहुउपयोगी साइरनमार्फत समेत सूचना सम्प्रेषण गर्दै आएको छ ।
पूर्वसूचना पाएपछि महिला स्वयंसेविका किरणा जैसी औषधिसहितको झोला बोकेर घरबाट निस्किएकी थिइन् । झोलामा उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगका औषधिसँगै प्राथमिक उपचार सामग्री पनि थियो ।
उनले भनिन्, “विपद्का बेला नसर्ने रोग भएका व्यक्तिको उपचार सेवा निरन्तरता चुनौतीपूर्ण हुन्छ । यस्तो अभ्यासले समुदायको पूर्वतयारी र क्षमता दुवै बढाउँछ ।”
बडघर प्रणालीमार्फत सूचना प्रवाह
भजनी क्षेत्रमा थारु समुदायको मौलिक परम्परा ‘बडघर’ प्रणाली अझै प्रभावकारी रूपमा सक्रिय छ । बडघरले समुदायलाई एकताबद्ध, अनुशासित र विकासका काममा परिचालन गर्दै आएका छन् ।
सूचना प्रवाहका क्रममा बडघर स्वयं प्रत्येक घरमा पुगेर मौखिक वा लिखित जानकारी दिने परम्परा छ । मानबहादुर चौधरी भन्छन्, “बडघर आफैँ खटिँदा समुदायले बढी विश्वास गर्छ, त्यसैले सकेसम्म म आफैँ जान्छु ।”
भजनीका सबै वडा बाढी जोखिममा
भजनी नगरपालिकाका प्रमुख केबल चौधरीका अनुसार नगरपालिकाका नौवटै वडा बाढी तथा डुबानको उच्च जोखिममा छन् । पछिल्ला तीन वर्षमा मानवीय क्षति नभए पनि डुबान, कटान र कृषिबाली क्षति रोकिएको छैन ।
उनले भने, “नसर्ने रोग बढेसँगै बाढीको समयमा जोखिम अझ बढेको छ । यहाँ नसर्ने रोगको ग्राफ लगातार उकालो लागेको छ ।”
नगरपालिकाले जोखिम न्यूनीकरणका लागि एक सयभन्दा बढी उच्च घर निर्माणमा सहयोग गरेको छ भने विस्थापित राख्न १८ वटा सुरक्षित आश्रयस्थल निर्माण गरिएको जनाएको छ ।
नसर्ने रोगको बढ्दो चुनौती
नगरपालिकाले गत माघ र फागुनमा नसर्ने रोगसम्बन्धी ‘स्क्रिनिङ’ अभियान सञ्चालन गरेको थियो ।
स्वास्थ्य शाखा प्रमुख कैलाशबहादुर डगौरा थारुका अनुसार ३० वर्षमाथिका एक हजार १८० जनाको परीक्षण गर्दा २५५ जनामा उच्च रक्तचाप, ९५ जनामा मधुमेह, १६ जनामा मिर्गौला समस्या र २४४ जनामा मोटोपनाको समस्या भेटिएको थियो ।
“नसर्ने रोग भएका व्यक्तिको खोजपड्ताल र पहिचान जारी छ । उनीहरुलाई ‘कार्ड’ वितरण भइरहेको छ, जसले विपद्का बेला उपचार सेवा निरन्तरतामा सहयोग पुर्याउनेछ,” उनले बताए ।
‘पेन डी प्याकेज’ कार्यान्वयनको तयारी
भजनी नगरपालिकामा नोभो नोर्डिस्क फाउन्डेसनको आर्थिक सहयोग तथा डेनिस रेडक्रस, क्यानडियन रेडक्रस र आरहुस विश्वविद्यालयको सहकार्यमा ‘रेजिलिएन्स एनसिडी केयर’ परियोजना अप्रिल २०२४ देखि सञ्चालनमा छ ।
नेपाल रेडक्रस सोसाइटीका स्वास्थ्य कार्यक्रम संयोजक अनिल महर्जनका अनुसार परियोजनाले विपद्को समयमा नसर्ने रोग भएका व्यक्तिको उपचार सेवा निरन्तरताका लागि ‘पेन डी प्याकेज’ कार्यान्वयनमा सहजीकरण गरिरहेको छ ।
परियोजना संयोजक प्रमोद अधिकारीले विपद् व्यवस्थापन प्रणाली र स्वास्थ्य सेवाबीचको अन्तर कम गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको बताए ।
उनले भने, “मधुमेह, उच्च रक्तचाप र मुटुरोगका बिरामीलाई विपद्को बेला प्राथमिकता दिन सके आकस्मिक जटिलता र मृत्यु जोखिम कम गर्न सकिन्छ ।”
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका सामुदायिक स्वास्थ्य विशेषज्ञ डा. सविन पराजुलीले पनि भजनी र लालझाडीको अभ्यास अन्य पालिकामा विस्तार गर्न आवश्यक रहेको बताए ।
भजनी नगरपालिका आगामी आर्थिक वर्षदेखि ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गरेर कार्यान्वयन गर्ने तयारीमा छ ।
नगर प्रमुख चौधरीले भने, “यो प्याकेज लागू भएपछि विपद्को समयमा नसर्ने रोग भएका नागरिक उपचारबाट वञ्चित हुने अवस्था अन्त्य हुने विश्वास लिएका छौँ ।”








