काठमाडौं । केही मिडियाले मतदाता प्रभावित बनाउन एकपक्षीय सर्वेक्षण गरेकामा एमालेले आपत्ति जनाएको छ । पार्टी मुख्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन प्रक्रिया संवेदनशील चरणमा प्रवेश गरिसकेको अवस्थामा केही सञ्चारमाध्यमबाट एकपक्षीय समाचार, टिप्पणी तथा अप्रमाणित नतिजा सार्वजनिक गर्ने प्रवृत्ति बढेको आरोप लगाए।

शाहीका अनुसार सार्वजनिक खपतका लागि प्रस्तुत गरिने प्रायोजित र एकपक्षीय तथ्यांकले मतदाताको मनोविज्ञान प्रभावित गर्न सक्छ र जनमतलाई एकतर्फी दिशामा धकेल्ने जोखिम हुन्छ। यस्तो अभ्यासले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना र अनुगमनमाथि प्रश्न उठाउने तथा स्वतन्त्र र मर्यादित पत्रकारिताको विश्वसनीयता कमजोर बनाउने उनको भनाइ छ।

ADVERTISEMENT

एमालेले निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा सबै सम्बन्धित निकाय र सञ्चारमाध्यमलाई प्रचलित कानुनी व्यवस्था, व्यावसायिक आचारसंहिता र उच्च नैतिक मापदण्ड पालना गर्न आग्रह पनि गरेको छ।

शाहीले सामाजिक सञ्जालको दुरुपयोग र कृत्रिम सामग्री (आर्टिफिसियल कन्टेन्ट) को प्रसारबारे पनि चिन्ता व्यक्त गरे। उनका अनुसार अहिले फेसबुक, टिकटक, युट्युब, वीच्याट, वाट्सएप र भाइबरजस्ता प्लेटफर्म सूचना आदान–प्रदानका प्रमुख माध्यम बनेका छन्। यी माध्यमबाट सकारात्मक बहस सम्भव भए पनि पछिल्लो समय गलत सूचना, दुष्प्रचार र कृत्रिम सामग्रीको प्रसारले सामाजिक सद्भाव र राजनीतिक वातावरणमा गम्भीर चुनौती सिर्जना गरेको उनले बताए।

ADVERTISEMENT

पछिल्लो केही दिनयता केही अनलाइन मिडियाले विभिन्न निर्वाचन क्षेत्रमा यति मतदातासँग भेटेर सर्वेक्षण गरेको, उनीहरूले यसो भने, यो उम्मेदवारले चुनाव जित्छ, यो उम्मेदवार प्रतिस्पर्धामा भन्दै समाचार प्रकाशित गरिरहेका छन् । जसले गर्दा चुनाव एकपक्षीय जस्तो भएपछि एमालेले औपचारिक रूपमै प्रतिवाद गरेको हो ।