काठमाडौं । एमालेका संस्थापक महासचिव मदन भण्डारी र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले एमालेको परराष्ट्र मामिला विभाग सदस्यबाट राजीनामा दिएकी छन् । उनले तीन दिनअघि नै सदस्यबाट राजीनामा दिएको स्रोतले बतायो । तर यसबारे औपचारिक रूपमा बाहिर ल्याइएको छैन । विभाग प्रमुखमा पार्टी सचिव रघुवीर महासेठ छन् ।

मदन भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारी अहिले मदन भण्डारी फाउण्डेशनकी अध्यक्षसमेत हुन्। आमालाई एमाले पार्टीको राजनीतिमा आउन रोक लगाएपछि उषाकिरणले आफू अचम्मित नभएको भन्दै साउन ८ मा सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेकी थिइन्।

जसमा पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने गरी गरिएको निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट आफू अचम्मित नभएको टिप्पणी गरेकी थिइन्।

‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ र निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुवैबाट मचाहिँ अचम्मित छैन, म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ उनले भनेकी थिइन्, ‘आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग, मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवारमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन, हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु , टाढा नजानु भन्नुहुन्छ र सोहीअनुरुप कोशिश गरियो। तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्। र, नैतिक समर्थन खोज्दैनन् पनि।’

आमाको पार्टी सदस्य नवीकरण नगर्ने निर्णयबाट उनी एमाले नेतृत्वसँग असन्तुष्ट थिइन्। त्यसयता मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन आफू सक्रिय रहने भन्दै त्यसका लागि छुट्टै कार्यालयसमेत स्थापना गरिसकेकी छिन्। त्यसलाई विद्या भण्डारीको सम्पर्क कार्यालयको रूपमा पनि हेरिएको छ।

साउन ९ गते पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यता कायम भएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन्। त्यसयता एमालेका विभिन्न विभागमा रहेका नेताहरूले भण्डारी राजनीतिमा आउन नहुने भन्दै अभिव्यक्ति दिइरहेका छन्। पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले पनि विद्या भण्डारी सम्मानित र राष्ट्रको उच्च पदमा पुगेका कारण उच्च सम्मानका साथ बस्नुपर्ने बताउँदै आएका छन्।