काठमाडौं, देशको अर्थतन्त्र सुस्त रहेको, उद्योग–व्यवसायले पर्याप्त गति लिन नसकेको र सर्वसाधारण तथा निजी क्षेत्र कर्जाको चर्को ब्याजदर र आर्थिक दबाबबाट गुज्रिरहेको चर्चा भइरहँदा वाणिज्य बैंकहरूले भने तीन महिनामै १९ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास अर्थात् साउनदेखि असोज मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले कुल १९ अर्ब १४ करोड ५४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले बैंकिङ क्षेत्रको नाफा गत वर्षको तुलनामा ४५.५९ प्रतिशतले बढेको देखाएको छ। गत आव २०८२/८३ को पहिलो त्रैमासमा २० वाणिज्य बैंकले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएका थिए। एक वर्षको अन्तरालमै बैंकहरूको खुद नाफामा झन्डै ६ अर्ब रुपैयाँ वृद्धि भएको छ।

ADVERTISEMENT

खुद नाफा आर्जनको प्रतिस्पर्धामा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ४५.४३ प्रतिशत बढी हो। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २४.४९ प्रतिशतले बढेको हो।

ADVERTISEMENT

नाफाका आधारमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा रहेको छ। बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा १७५.५२ प्रतिशतले बढेको हो।

यसैगरी, चालु आवको पहिलो त्रैमासमा एभरेस्ट बैंकले १ अर्ब २५ करोड २७ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले १ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। एनएमबी बैंकले १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ९ करोड २३ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आवको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा उच्च दरमा बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा २ हजार ५२२.४६ प्रतिशतले बढेको हो।

यसैगरी, सिद्धार्थ बैंकले खुद नाफा आर्जनमा १६२.७५ प्रतिशतको वृद्धि हासिल गर्दै ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। नेपाल बैंकको खुद नाफा गत आवको सोही अवधिको तुलनामा ४१.४५ प्रतिशतले बढेर ८३ करोड २१ लाख रुपैयाँ पुगेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६७ करोड १४ लाख रुपैयाँ, हिमालयन बैंकले ६५ करोड ४८ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। लक्ष्मी सनराइज बैंकको नाफा ९६.०५ प्रतिशतले बढेको छ।

प्रभु बैंकको खुद नाफा ६० करोड ३७ लाख रुपैयाँ पुगेको छ। नेपाल एसबीआई बैंकले ५५ करोड २२ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। माछापुच्छ्रे बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ३१.८६ प्रतिशतले बढेको छ।

एनआईसी एसिया बैंकको खुद नाफा ४.३२ प्रतिशतले बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

यता, सिटिजन्स बैंक भने गत आवको पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।