काठमाडौँ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि तत्काल रु १५ अर्ब उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेकी छन्।

प्रधानमन्त्री कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा मन्त्री डा. गौतमले स्वास्थ्य बिमा प्रणालीमा आवद्ध अस्पतालहरू आर्थिक संकटका कारण बन्द हुन सक्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरिन्।

मन्त्री गौतमले भनिन्, “शून्य बजेटमा २४ अर्ब रुपैयाँ बराबरको दायित्व बोकेको स्वास्थ्य बिमा कार्यक्रम कसरी सञ्चालन हुन्छ? स्पष्ट रूपमा स्वास्थ्य बिमा बन्द गर्न निर्देशन दिनु वा आवश्यक रकम जुटाउनु पर्छ।” उनले आर्थिक स्रोत व्यवस्थापनलाई तत्काल प्राथमिकता दिन आग्रह गरेकी छन्।

ADVERTISEMENT

उक्त छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वास्थ्य मन्त्रालयलाई नीतिगत सुधारका लागि सुझाव दिनुका साथै आवश्यक स्रोत जुटाउन अर्थ मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिए। उनले भने, “स्वास्थ्य बिमाका लागि दिने रकमको पुन:प्राथमिकरण गर्न स्वास्थ्य मन्त्रालय तयार हुनुपर्छ। अन्य मन्त्रालयको चालु खर्चको विवरणअनुसार आवश्यक परे रकम हस्तान्तरण गर्न पनि तयार छौं।”

ADVERTISEMENT

अर्थसचिव उपाध्यायले थपे, स्वास्थ्य मन्त्रालयले सुधारलाई पहिलो एजेन्डा बनाएर स्रोत खोज्नुपर्ने र यसबिना स्वास्थ्य बिमा कार्यक्रम दिगो रूपमा सञ्चालन गर्न असम्भव हुने बताए।

ADVERTISEMENT