काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका केही हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार आज (कात्तिक २ गते, सोमबार) कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदली हुने पूर्वानुमान छ।
देशका हिमाली क्षेत्रका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ। आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ।
भोलि (कात्तिक ३ गते, मंगलबार) कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ। तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। तर, बिहान केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने विभागले जनाएको छ।
त्यस्तै, पर्सि (कात्तिक ४ गते, बुधबार) हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा देशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
तराईका अधिकांश स्थानमा दिउँसो मौसम सफा रहने भए पनि बिहान हुस्सु र कुहिरोका कारण दृश्यता कम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।











