काठमाडौँ । एमालेले भदौ २४ को हिंसात्मक गतिविधि छानबिन गर्न माग गरेको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानविनको माग गरेका हुन् ।

ADVERTISEMENT

प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उनले आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजितरूपमा भएको आरोपसमेत लगाए ।

थापाले निर्वाचनबाट ठुलो दलसहित विजय हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिए । प्रतिनिधिसभाको निर्वाचनले आफूहरुलाई सानो दलका रुपमा स्थान दिए पनि चुनौतीको सामना गरेर अघि बढ्ने बताए ।

ADVERTISEMENT

थापाले फागुन २१ गतेको निर्वाचनमार्फत निलो क्रान्तिलाई बैधानिकता प्रदान गरिएको पनि बताए । ‘फागुन २१ गते निर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । फागुन १३ गते धार्मिक अनुष्ठानका बिच रास्वपा नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो’, थापाले भने, ‘यो ऐतिहासिक विजयका लागि रास्वपा र प्रधानमन्त्री शाहलाई म एमालेको तर्फबाट बधाई भन्न चाहन्छु ।’

उनले विजयमा ककसको भूमिका छ भन्ने सवालमा नेपाली सेना, बारबरा फाउन्डेसन लगायतको निर्णायक भूमिका रहेको बताउँदै धन्यवाद दिए । उनले बाह्य रूपमा पनि टिओवी, एआईलगायतले संविधान र शान्तिका नायकलाई हत्याराका रूपमा करार गरेको र खल पात्रलाई महानायक निभाएको बताए । थापाले बोल्दै गर्दा गृहमन्त्री सुधन गुरुङ मुर्मुरिएका थिए । उनले हात उठाएर अस्वाभाविक हाउभाउ प्रदर्शन गरेका थिए ।