काठमाडौं । पूर्वगृहमन्त्री तथा ‘हामी नेपाल’का संस्थापक सुधन गुरुङमाथि गठन गरिएको सरकारी छानबिन समितिले अनुसन्धान कार्य सम्पन्न गरेको जनाएको छ। समितिले हाल प्रतिवेदन लेखनको काम तीव्र रूपमा अघि बढाइरहेको र एक–दुई दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

समितिका सदस्य तथा प्रवक्ता अच्युतमणि नेउपानेका अनुसार अनुसन्धान प्रक्रिया पूरा भइसकेको छ भने अहिले प्राप्त तथ्य, विवरण र प्रमाणहरूको विश्लेषणसहित अन्तिम प्रतिवेदन तयार पार्ने काम भइरहेको छ।

ADVERTISEMENT

मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा समिति गठन गरिएको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन्।

ADVERTISEMENT

समितिले जेठ ४ गतेदेखि गुरुङको सम्पत्ति, आयस्रोत, कर तिरेको विवरण तथा अन्य आर्थिक गतिविधिबारे अध्ययन सुरु गरेको थियो। १५ दिनको कार्यादेश पाएको समितिको म्याद जेठ १९ गते सकिँदैछ।

पूर्वगृहमन्त्री गुरुङमाथि अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेपछि सरकारले छानबिन समिति गठन गरेको थियो। विशेषगरी जेनजी आन्दोलनपछि भएको शेयर कारोबार, जग्गा खरिद तथा निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरण र गृहमन्त्री बनेपछि पेश गरिएको विवरणबीच देखिएको फरकबारे अनुसन्धान केन्द्रित गरिएको थियो।

यस्तै, सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग गुरुङको व्यापारिक साझेदारी रहेको विषय पनि समितिको अध्ययनको दायरामा परेको थियो।