काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गर्दैछ ।
आयोगका अनुसार उम्मेदवारी पत्र र उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बुधबार उजुरीका लागि समय दिइएको थियो । जसमध्ये पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ । उजुरी परेका उम्मेदवारमा माधवकुमार नेपाल, राजीव खत्री, जानुका पाठकलगायत छन् । उनीहरूविरुद्ध परेको उजुरीको आयोगले छानबिन गर्दैछ ।
यसपछि माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने र त्यही दिन दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।







