काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने क्रममा तीन महत्वपूर्ण आधार तय गरेको छ। २७ देखि ३० पुससम्म काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेपछि त्यसको विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दर्ता गरिएको थियो।
यसैबीच, १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले उक्त विशेष महाधिवेशन विधानविपरीत भएको दाबी गर्दै आयोगमा आपत्ति जनाएको थियो। दुवै पक्षबाट प्राप्त कागजात, पार्टीको विधान तथा प्रचलित ऐन–कानुनको अध्ययनपछि निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मान्यता दिएको हो।
आयोगले निर्णय गर्दा पहिलो आधारका रूपमा पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने व्यवस्था रहेको र सोही अनुरूप महाधिवेशन आयोजना गरिएको स्पष्ट पारेको छ। दोस्रो आधारमा विधानत: महाधिवेशन प्रतिनिधि नै पार्टीका सर्वोच्च प्रतिनिधि हुने उल्लेख गरिएको छ।
तेस्रो आधारका रूपमा आयोगले विशेष महाधिवेशन माग गरिएको विषयमा कुनै औपचारिक विमति नदेखिएको उल्लेख गर्दै विशेष महाधिवेशन विधानसम्मत रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ।
गगन पक्षलाई वैधानिकता दिन निर्वाचन आयोगले टेकेका तीन प्रमुख आधार






