काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालत पुगेको छ।
सभापतिमा गगनकुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा पक्षले पुनरवलोकन निवेदन दर्ता गरेका छन्।
सर्वोच्च अदालतले बुधबार दर्ता भएको उक्त पुनरवलोकन निवेदन अब तीन न्यायाधीशको इजलासमा पेसी तोक्नेछ। इजलासले पुनरवलोकनको निस्सा दिएमा मुद्दाको सुनुवाइ अघि बढ्नेछ भने नदिएमा हालको फैसला नै अन्तिम हुनेछ।
महाधिवेशन नजिकिँदै गर्दा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले वैशाख ४ गतेको सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको दाबी गर्दै पुनरवलोकनको माग गरेको हो।
यसअघि सर्वोच्च अदालतले निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको समितिलाई दिएको आधिकारिकता सदर गर्दै फैसला सुनाएको थियो।






