काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार बिहान ८ बजेदेखि पार्टीको विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने र सभापतिसहित नेता उपस्थित हुने विश्वास व्यक्त गरेका छन्। विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले प्रतिनिधिहरूलाई आफ्नो अधिकार प्रयोग गरेर निर्णय लिन आग्रह गरे।
थापाले भने, “भोलि नेताहरू हलमा आउँछन् भन्ने विश्वास छ। नेताहरू आउने-नआउने उहाँहरूको मर्जी हो। तर निर्णय गर्ने अधिकार तपाईंहरूको हातमा छ। तपाईंहरूले नै निर्णय गर्नुहुन्छ।”
उनले कहिलेकाहीँ पार्टी र देशका लागि जोखिम उठाउन तयार रहनुपर्ने तर्क राख्दै भने, “कहिलेकाहीँ युद्ध हार्न पनि तयार हुनुपर्छ। कहिले काहीँ ज्वालाका जाग्रित गर्नका लागि आफू डढ्न पनि तयार हुनुपर्छ। नेपाली कांग्रेसलाई सही ठाउँमा उभ्याउन यही आवश्यक छ।”
महामन्त्री थापाले महाधिवेशनलाई पार्टीको सर्वोच्च संस्था भएको र यसले नेतृत्व, नीति र विधान परिवर्तन गर्न सक्ने अधिकार भएको स्पष्ट पारे। “यो अवसर पनि हो, चुनौती पनि हो। महाधिवेशनले चाहे नेता छान्छ, नेतृत्व बदल्छ, विधान पनि संशोधन गर्छ। यही अधिकार राख्नेको भेला हो यो,” उनले बताए।
थापाको भनाइले प्रतिनिधिहरूलाई स्वतन्त्र र लोकतान्त्रिक निर्णयमार्फत पार्टीलाई मजबुत बनाउन भोलि नेतृत्व चयन गर्न पाउने बाटो खुल्ला गर्देका हुन्।






