काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
काग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेश प्रदेशका विभिन्न तहका नेताहरूसँगको छलफलमा थापाले जिम्मेवार राजनीतिक नेतृत्वले कुनै पनि विषयमा धारणा बनाउनुअघि त्यसको सत्य तथ्य जाँच गर्नुपर्ने बताएका हुन् ।
थापाले कांग्रेस मुलुकको मुख्य र अभिभावक शक्ति भएको उल्लेख गर्दै समाजमा देखापर्ने जटिल परिस्थितिलाई सम्हाल्ने प्रमुख जिम्मेवारी कांग्रेसकै भएको बताए।
पार्टीका कर्मचारी, पदाधिकारी र स्वयं आफू पनि नेता कार्यकर्ताको सम्पर्कमा रहने भन्दै थापाले संसदीय दलका नेता र सांसदहरूलाईसमेत परिचालन गरिएको बताए ।
‘कुनै पनि विषयवस्तु सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट सार्वजनिक हुनेबित्तिकै हतारमा टिप्पणी गर्ने, बोल्ने वा लेख्ने प्रवृत्तिलाई त्यागौँ । राजनीतिक नेतृत्वले विवेकपूर्ण ढंगले सोच्नुपर्छ । सूचनाको गहिराइ र आधिकारिकता नबुझी प्रतिक्रिया दिँदा समाजमा अनावश्यक भ्रम फैलिन सक्छ र त्यसले अपूरणीय क्षति निम्त्याउन सक्छ । आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो । हामी जिम्मेवार शक्ति भएकाले संयमित भएर सही सूचनाका साथ अघि बढ्नुपर्छ,’ उनले भने ।
थापाले वाह्य चर्चा र आलोचनाभन्दा पनि आफ्नो कर्तव्य र जिम्मेवारीमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।







