काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले कमजोर फिल्डिङलाई हारको मुख्य कारणका रूपमा औँल्याएका छन्।
बिहीबार कर्णाली याक्ससँग पराजित भएपछि आयोजित पोस्टम्याच प्रेस मिटमा सन्दीपले ब्याटिङ र बलिङमा राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसकेको बताए। उनका अनुसार टोलीले विपक्षीका चार–पाँच विकेट लिएपछि पनि दबाब कायम राख्न सकेन।
‘हामीले सात–आठ ओभरसम्म एकदम राम्रो गरिरहेका थियौँ। टिमको मोमेन्टम पनि हामीसँगै थियो। चार–पाँच विकेट लिइसकेका थियौँ। तर इनिङ नसकिँदासम्म धैर्य राख्नुपर्ने थियो, जुन हामीले गर्न सकेनौँ,’ उनले भने।
सन्दीपले टोलीले खेलमा चारदेखि पाँचवटासम्म क्याच छाडेको उल्लेख गर्दै फिल्डिङमा देखिएको कमजोरी स्वीकार गरे। दोस्रो इनिङमा ड्यु फ्याक्टर र पिचको अवस्थाका कारण बलिङ चुनौतीपूर्ण भए पनि फिल्डिङमा सुधार गर्न नसक्दा टोलीले त्यसको मूल्य चुकाउनुपरेको उनको भनाइ थियो।
‘हामीले आज एकदमै कमजोर फिल्डिङ गर्यौँ। टिमका रूपमा चार–पाँचवटा क्याच छाड्यौँ। यस्तो अवस्थामा बलरहरूलाई खासै सहयोग हुँदैन। ड्यु फ्याक्टर थियो, पिचले पनि साथ दिइरहेको थिएन। यस्तो अवस्थामा फिल्डिङमा पनि कमजोर प्रदर्शन हुनु कुनै पनि टिमका लागि स्वीकार्य हुँदैन,’ उनले भने।
सन्दीपले कर्णालीविरुद्ध १८७ रन बनाउनु राम्रो स्कोर भए पनि त्यसलाई जोगाउन नसकेको बताए। सुरुवाती चरणमा विपक्षीका विकेट निकाल्न सफल भए पनि त्यसपछि भएका गल्तीले खेलको अवस्था बदलिएको उनको भनाइ थियो।
‘हामीले छिट्टै पाँच विकेट लिएका थियौँ। पावर प्लेमा पनि तीन–चार विकेट निकालेका थियौँ। तर त्यसपछि झन्डै १० भन्दा बढी गल्ती गर्यौँ। तीमध्ये सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो,’ उनले भने।
उनले कर्णालीका सोमपाल कामी, पवन र गुलशन झाको साझेदारी तथा अन्तिम चरणको प्रदर्शनको प्रशंसा गर्दै जितको श्रेय विपक्षी टोलीलाई दिए। साथै लोकेशको ब्याटिङ प्रदर्शनको पनि प्रशंसा गरे।
हारका बाबजुद अन्तिम ओभरसम्म खेल जिताउन सक्ने विश्वास रहेको सन्दीपले बताए। दोस्रो इनिङमा बलिङ गर्न कठिन भए पनि टोलीलाई जिताउने योजनासहित मैदानमा उत्रिएको उनको भनाइ थियो।
‘मलाई अन्तिम ओभरसम्म पनि यो खेल टिमका लागि जिताउन सक्छु भन्ने विश्वास थियो। आठ ओभर बाँकी हुँदा पनि म संघर्ष गर्न तयार थिएँ। तर क्रिकेटमा यस्ता क्षणहरू आउँछन्। खेलले हामीलाई सिकाएको छ,’ उनले भने।
सन्दीपले टोलीले समग्रमा राम्रो क्रिकेट खेलिरहेको दाबी गर्दै आगामी खेलमा भएका गल्ती सुधार गर्ने बताए। उनले कर्णाली याक्सलाई जितका लागि बधाई दिँदै क्रिकेटमा जित र हार खेलको स्वाभाविक पाटो भएको उल्लेख गरे।








