काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी कुनै ‘लास र दासको संस्था’ नभई ज्यूँदो मानिसहरूको पार्टी भएको बताएका छन्। आइतबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले प्रतिनिधिहरु बीच उठेका प्रश्न र बहसको महत्व औंल्याए।
थापाले भने, “कांग्रेस दास र लासको पार्टी होइन। कांग्रेस ज्यूँदो मानिसहरूको पार्टी हो। यहाँ प्रश्न मरेको छैन। जुन पार्टीमा प्रश्न मर्छ, त्यो समाजमा प्रश्न गर्न सक्दैन। तपाईंहरूको प्रयासले कांग्रेस ज्यूँदो छ।” उनले पार्टीमा कसैले नबोल भनेर दबाब दिन नसक्ने पनि बताए।
महामन्त्री थापाले विशेष महाधिवेशन प्रतिनिधिहरु नै नीति र नेतृत्व परिवर्तनको माग गर्दै आएको उल्लेख गर्दै भने, “प्रतिनिधिहरुले नीति पनि बदल्ने र नेता पनि बदल्ने माग गर्नु भएको छ। यो कहाँ गएर टुंगिन्छ, मलाई थाहा छैन।”

थापाले भदौ २३ र २४ को आन्दोलनको पृष्ठभूमि जनताको असन्तोष भएको भन्दै त्यसको जिम्मेवारी सरकार र पार्टीमा रहेको बताएका छन्। उनले भने, “जनता सडकमा केवल जेन–जीका लागि होइन, लाखौँ नागरिकले भ्रष्टाचार, कुशासन र बेथितिप्रति आफ्नो रिस पोखेका हुन्। सरकारमा हामी थियौं, संसद्मा हामी थियौं। राजाको छोरा राजा हुने शासन फालेको गणतन्त्रमा नेपोबेबी देखेर जनता रिसाएका हुन्।”
उनले महाधिवेशनलाई जनता र पार्टीभित्र उठेका प्रश्न र असन्तोषलाई सम्बोधन गर्ने प्रयासका रूपमा व्याख्या गर्दै कांग्रेसलाई सक्रिय, जिम्मेवार र परिवर्तनमुखी नेतृत्वको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
थापाले जोड दिए, “हाम्रो अगाडि उठेका प्रश्नलाई अनदेखा गर्ने होइन, बुझ्ने, मनन गर्ने र सम्बोधन गर्ने काम विशेष महाधिवेशनले गर्ने छ। यही प्रक्रिया पार्टीलाई ज्यूँदो राख्ने महत्वपूर्ण कदम हो।”|









