कैलालीको धनगढीमा आगामी भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आयोजना हुने भएको छ। आयोजक बैजनाथ सञ्चार प्रालिले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारी सुरु भएको जानकारी दिएको हो।
संस्थाका प्रबन्धक सरस्वतीकुमारी खड्का भट्टले गाईजात्रा पर्वको संरक्षण तथा प्रवर्द्धन गर्दै हास्य–व्यंग्यमार्फत समाजमा रहेका विकृति, विसंगति र समसामयिक विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो।
विसं २०८१ मा सम्पन्न पहिलो संस्करणको सफलतापछि यस वर्षको कार्यक्रमलाई अझ भव्य, व्यवस्थित र सन्देशमूलक बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा केन्द्रीयस्तरका चर्चित हास्य–व्यंग्य कलाकारको विशेष प्रस्तुति रहनेछ। साथै सुदूरपश्चिमका वरिष्ठ तथा लोकप्रिय कलाकारमार्फत नाटक, कविता, गीत–संगीत, देउडा तथा प्रदेशका मौलिक लोक सांस्कृतिक प्रस्तुति समेटिने आयोजकले जनाएको छ।
कार्यक्रम संयोजकसमेत रहनुभएकी खड्काले गाईजात्रा परम्पराको पुस्तान्तरणसँगै हास्य–व्यंग्यलाई सामाजिक चेतनाको माध्यमका रूपमा प्रयोग गरिने बताउनुभयो।
उहाँका अनुसार कार्यक्रममा लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, घरेलु तथा महिला हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदजस्ता विषयमा सकारात्मक सन्देश प्रवाह गरिनेछ।
आयोजकले गाईजात्रा पर्वको सांस्कृतिक महत्वलाई संरक्षण गर्दै मनोरञ्जनसँगै समाज सुधारका विषयलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।





