सुनसरी, : सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जमा भएको घटनापछि उत्पन्न विवाद समाधान हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले पुनः अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको हस्ताक्षरमा जारी विज्ञप्तिअनुसार आज अपराह्न ३ बजेदेखि लागू हुने गरी जिल्लाका केही क्षेत्रमा कर्फ्यु लगाइएको हो।

ADVERTISEMENT

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम जारी आदेशअनुसार महेन्द्रराजमार्गअन्तर्गत तोकिएका चार किल्ला तथा इनरुवा बजार क्षेत्रभित्र सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ। साथै कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न निषेध गरिएको छ।

प्रशासनले कर्फ्यु लागू भएको क्षेत्रको सीमा पूर्वतर्फ पकली चोकसम्म, पश्चिमतर्फ कोशी ब्यारेजको पुलसम्म र उत्तर–दक्षिणतर्फ महेन्द्रराजमार्गको दुवैतर्फ २०० मिटर क्षेत्र तोकेको छ।

ADVERTISEMENT

देवानगञ्ज घटनापछि सुरक्षा संवेदनशीलता बढेपछि स्थानीय प्रशासनले यसअघि पनि कर्फ्यु आदेश जारी गरेको थियो। परिस्थिति सामान्य बनाउन सुरक्षा निकाय परिचालन गरिएको र शान्ति व्यवस्था कायम गर्न आवश्यक कदम चालिएको प्रशासनले जनाएको छ।