काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ‘नाममात्रको कार्यवाहक सभापति’ मात्र बनाइएको कडा आरोप लगाएका छन् । पार्टीको केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै थापाले सभापति शेरबहादुर देउवाले सबै अधिकार र शक्ति आफैँसँग राखेर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएको बताए ।
हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारित प्रेस ब्रिफिङमा थापाले भने, “सभापतिज्यूले कार्यवाहक दिनुभएको छ । नाम मात्रको कार्यवाहक दिनुभयो ।” उनको यो अभिव्यक्तिले पार्टीभित्र सभापति देउवाको कार्यशैली र निर्णय प्रक्रियाप्रति गम्भीर असन्तुष्टि रहेको स्पष्ट पारेको छ ।
जेनजी आन्दोलनपछि सभापति देउवाले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । तर पार्टीको १५औँ महाधिवेशनको मिति र प्रकृतिका विषयमा संस्थापन पक्ष र इतर पक्षबीच गम्भीर मतभेद कायम छ । संस्थापन पक्ष महाधिवेशन चुनावपछि मात्र गर्ने अडानमा छ भने थापा, विश्वप्रकाश शर्मा र शेखर कोइराला पक्ष विशेष महाधिवेशन तत्काल आयोजना गर्नुपर्ने माग गर्दै आएका छन् ।
यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए । थापाको पछिल्लो टिप्पणीले कार्यवाहक सभापति खड्काको निर्णय गर्ने अधिकारमाथि नै प्रश्न उठाएको छ र पार्टीभित्रको आन्तरिक कलह थप उजागर भएको छ ।
यो विषयमा कार्यवाहक सभापति खड्काबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । जेन जी आन्दोलनमा घाइते भएर सिंगापुरमा उपचारबाट फर्के पश्चात देउवा पुन: पार्टी राजनीतिमा सक्रिय भएका छन्।








