नेपाल सरकारले विभिन्न १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी उपलब्ध गराउने मोबाइल एप सञ्चालनमा ल्याएको छ।

कृषि बजारलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले ‘एएमपिआइएस नेपाल’ मोबाइल एप सार्वजनिक गरेको हो। मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने निर्णयअनुसार एप सुरु गरिएको हो।

ADVERTISEMENT

एपमार्फत कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिसहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी, रुपन्देही, बाँके, सुर्खेत र कैलालीका संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य विवरण उपलब्ध हुनेछ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि विभागको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर पनि एप प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

एपमार्फत किसान तथा उपभोक्ताले विभिन्न कृषि बजारको न्यूनतम, अधिकतम र औसत मूल्य, बजारअनुसार मूल्य तुलना, मूल्य प्रवृत्ति तथा कृषि मौसमी सल्लाह बुलेटिनसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।

कृषिमन्त्रीले एप सञ्चालनले किसानलाई बिचौलियामा निर्भर हुनुपर्ने अवस्था घटाउने, बजारको वास्तविक मूल्य सहज रूपमा उपलब्ध गराउने र कृषि क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्ने विश्वास व्यक्त गर्नुभएको छ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरणसँगै सूचना प्रविधिको प्रयोग विस्तारलाई प्राथमिकतामा राख्दै कृषि बजार प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।