विराटनगर, १२ साउन : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले प्रहरी संगठनको आवश्यकता र हितलाई सर्वोपरी ठानी जिम्मेवारी निर्वाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ।
नवनियुक्त प्रमुखका रूपमा सोमबार जिम्मेवारी सम्हाल्नुभएका खनालले प्रहरी अधिकृत तथा कर्मचारीलाई निर्देशन दिँदै उच्च व्यावसायिकता, अनुशासन र जिम्मेवारीका साथ पदीय दायित्व पूरा गर्न आग्रह गर्नुभएको हो।
उहाँले प्रहरी संगठनको उद्देश्य, लक्ष्य र जिम्मेवारी आपसी सहयोग, समन्वय र प्रतिबद्धताबाट मात्र प्रभावकारी रूपमा पूरा गर्न सकिने बताउँदै संगठनप्रति समर्पित, एकताबद्ध र उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।
डीआईजी खनालले नेपाल प्रहरीले विगतदेखि नै चुनौतीपूर्ण परिस्थितिमा निरन्तर, प्रभावकारी र नागरिकमैत्री सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा आउने चुनौतीलाई संयमता, धैर्यता र व्यावसायिक दक्षताका साथ सामना गर्न निर्देशन दिनुभयो।
उहाँले कार्यसम्पादन सम्झौताअनुसार निर्धारण गरिएका लक्ष्य समयमै पूरा गर्न सबै शाखाले योजनाबद्ध, नतिजामुखी र प्रभावकारी ढंगबाट काम गर्नुपर्ने बताउनुभयो। साथै प्रहरी सेवामा पारदर्शिता, उत्तरदायित्व र गुणस्तर अभिवृद्धि गर्दै नागरिकको विश्वास कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।
प्रहरीको पदभन्दा ज्ञान र सिकाइ महत्वपूर्ण रहेको उल्लेख गर्दै खनालले संगठनको हितमा आउने सकारात्मक सुझाव र सल्लाह जुनसुकै तहबाट पनि ग्रहण गर्ने बताउनुभयो। सो क्रममा उहाँले कोशी प्रदेश प्रहरी कार्यालयका विभिन्न शाखाको निरीक्षण तथा अनुगमनसमेत गर्नुभएको थियो।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले कोशी प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, अनुसन्धान र सेवा प्रवाहसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो।





