जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–७ देवडिहाबाट १० दिनदेखि बेपत्ता सात वर्षीय बालक साकेत झा मृत फेला परेका छन्।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार घरबाट करिब अढाई किलोमिटर उत्तरतर्फको धानखेतमा बालकको शव फेला परेको हो।
गत कात्तिक ४ गते दसैँको टीकाका दिन बालक घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। बालक बेपत्ता भएपछि परिवार र गाउँले चिन्तित थिए भने प्रहरी तथा परिवारजनले निरन्तर खोजी गरिरहेका थिए।
प्रहरीले नजिकका गाउँ, पोखरी तथा झाडी क्षेत्रमा समेत खोजतलास गरेको थियो। तर, १० दिनसम्म बालकको अवस्था पत्ता लाग्न सकेको थिएन।
शव फेला परेपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको डीएसपी खनालले बताए। बालकको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










