काठमाडौं । एमालेको ११औँ महाधिवेशनका लागि शनिबार देशैभरि प्रतिनिधि छनोट हुँदैछन् । एमालेले सकभर सर्वसम्मत ढंगले नभए स्वस्थ प्रतिस्पर्धात्मक रूपमा प्रतिनिधि छनोट गर्न निर्देशन दिएको छ ।
दोलखा, ताप्लेजुङलगायतका जिल्लामा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । निर्वाचन हुने अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म मतदान गरिसक्नुपर्ने भएको छ । विभिन्न जिल्लाहरूले अनुकूलताअनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवासहित करिब दुई हजार प्रतिनिधि छनोट हुँदैछन् ।
प्रवास, जनसंगठन र विभागहरूबाट करिब एक सय प्रतिनिधि छनोट हुनेछन् । एमाले महाधिवशेनमा करिब २२ सय मनोनीत प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि छनोटका लागि केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रस्तावलाई पार्टी सचिवालयले यसअघि पनि पास गरेर मातहतका कमिटीमा पठाइसकेको छ ।
एमालेको १५ कात्तिकमा बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२ सय सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्ने छ ।
दलितका लागि प्रति पाँच सय सदस्य एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ । ट्रेड युनियनमा प्रदेशबाट सातजना प्रतिनिधि रहनेछन् । जनसंगठनबाट प्रतिजन संगठन पाँचजनाको प्रतिनिधित्व रहने छ । महासंघीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जना प्रतिनिधि रहनेछन् । विभाग र कार्यालयबाट एक एकजना प्रतिनिधि रहनेछन् । प्रवासबाट महादेशअनुसार पाँचजना प्रतिनिधि रहने छन् ।
केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन् भने अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन् । यी कमिटीबाट जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुनेछन् ।
एमालेको कुल संगठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्यमध्ये प्रदेशबाट ४५, प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाटसहित गरी अनुमानित १९ सयभन्दा बढी प्रतिनिधि रहने छन् । पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ ।






