काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको कार्यालयमा प्रहरी परिचालन गर्ने र समाचार कक्षमै प्रहरी प्रवेश गराएर तर्साउने कार्यको भर्त्सना गरेका छन्।
शनिबार प्रेस वक्तव्य जारी गर्दै उनले यस्ता गतिविधि कुनै पनि लोकतान्त्रिक सरकारको चरित्र हुन नसक्ने बताएका हुन्। उनले यसलाई राज्यशक्तिको दुरुपयोग र प्रेस स्वतन्त्रतामाथिको ठाडो हमलाको संज्ञा दिएका छन्।
अदालतमा बिचौलियामार्फत सेटिङ भएको प्रकरणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश तथा सत्तापक्षीय सांसदको नाम जोडिएर समाचार सार्वजनिक भइरहेको र उच्च सरकारी अधिकारीलाई सेवाबाट हटाउन लागिएको विषय पनि बाहिर आएको उनले उल्लेख गरेका छन्।
कार्यस्थलमा रहेका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर काममा हस्तक्षेप गरिएको तथा यस्ता विषय सार्वजनिक गर्ने पत्रकारमाथि पक्राउ पुर्जीबिनै धरपकड गरिएको उनको दाबी छ। केही पत्रकारलाई साइबर ब्युरोमा बोलाइएको उल्लेख गर्दै उनले नेपालमा समाचार लेख्ने वातावरण सङ्कुचित हुँदै गएको बताएका छन्।
प्रधानमन्त्रीको सचिवालय र गृह प्रशासन यस्ता घटनाबारे बेखबर रहेको तथा प्रहरी प्रवक्ताले बुझ्दै गरेको बताइरहँदा पक्राउ परेका पत्रकारले भने प्रधानमन्त्री कार्यालयकै दबाबमा पक्राउ गरिएको प्रहरी अधिकारीले बताएको दाबी गरेको वक्तव्यमा उल्लेख छ।
आङदेम्बेले प्रधानमन्त्रीका निर्देशन र सरकारका सबै काम कानुनसम्मत हुनुपर्नेमा जोड दिएका छन्। अनियमितता तथा छानबिनका विषयमा स्थापित निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने उनको भनाइ छ।
प्रचलित कानुनविपरीत हुने धरपकड र अनधिकृत हस्तक्षेप लोकतन्त्रविरोधी भएको उल्लेख गर्दै उनले सरकार प्रमुखको यस्तो कार्यशैलीले दशकौँको सङ्घर्षबाट प्राप्त वाक् तथा प्रकाशन स्वतन्त्रता र कानुनी राज्यको सर्वोच्चतामाथि प्रहार गरेको बताएका छन्।
पत्रकारलाई पक्राउ गर्दैमा समाचारको सत्य दबाउन नसकिने र प्रेसलाई निरङ्कुशतासामु घुँडा टेकाउन नसकिने उनको भनाइ छ। उनले सरकार तथा राज्यका निकायलाई संविधानप्रदत्त स्वतन्त्रताको सम्मान गर्दै कानुनअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न आह्वान गरेका छन्।










