काठमाडौं । एमालेमा विधान महाधिवेशनको औचित्य समाप्त भएको छ । तीन महिनाअघि एमालेले ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरेको थियो । विधान सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो ।

तर एमाले अध्यक्ष केपी ओलीले विधान महाधिवेशनको निर्णय उल्टाएका छन् । आइतबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी ओली पेस गरेको १०औं महाधिवेशनको व्यवस्था यथावत् राख्ने प्रस्ताव पारित भएको छ । बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधनको निर्णय गरेको हो ।

ADVERTISEMENT

स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाई), पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बनाउने निर्णय भएको जानकारी दिए ।

ADVERTISEMENT

बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेस गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको थियो । यससँगै एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ ।

केन्द्रीय समितिको बैठकको निर्णयप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विमति जनाएका छन् । ओलीको यो निर्णयले अब एमालेमा लाखौं खर्च गरेर विधान महाधिवेशन गर्नुको कुनै तुक नभएको इतर पक्षका नेताहरूले बताउन थालेका छन् । नेताहरुलाई भागबन्डा मिलाउन ओलीले १०औं महाधिवेशनले गरेको निर्णयलाई निरन्तरता दिएका हुन् ।

ADVERTISEMENT