काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ ।
निर्वाचन आयोगले यसअघि सोमबार ११० जना समानुपातिक सांसदको अन्तिम सूची सार्वजनिक गरेको थियो । सोही सूचीअनुसार आज सबै निर्वाचित सांसदलाई औपचारिक रूपमा प्रमाणपत्र वितरण गर्न लागिएको हो ।
सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबैभन्दा बढी ५७ जना सांसद समानुपातिकतर्फ निर्वाचित भएका छन् । त्यस्तै, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाल कम्युनिष्ट पार्टीबाट ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार जना सांसद निर्वाचित भएका छन् ।
प्रमाणपत्र वितरणसँगै नयाँ संसद गठनको प्रक्रिया थप औपचारिक रूपमा अघि बढ्नेछ । निर्वाचनपछिको राजनीतिक समीकरण र सरकार गठनका गतिविधि पनि यससँगै तीव्र हुने अपेक्षा गरिएको छ ।