काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पहिलोपटक एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । एमाले बागमती प्रदेश समितिले प्रतिनिधिसभा पुनर्स्थापना र प्रतिगमनको विरोधमा शनिबार राजधानीमा विशाल प्रदर्शन गरेको हो ।
भृकुटी मण्डपबाट सुरु भएको र्याली भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै भृकुटीमण्डप पुगेको थियो। जुलुसमा हजारौं एमाले नेता कार्यकर्ता सहभागी थिए । मंसिरमा एमालेले ११औं महाधिवेशन गर्दैछ । त्यसको तयारीस्वरूप र सरकारलाई दबाब दिने उद्देश्यले एमालेले प्रदर्शन गरेको हो ।
एमालेले शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भने पनि राजधानीका सडकमा तीन हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।
भृकुटीमण्डपमा आयोजित विरोध सभालाई एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । जेनजी आन्दोलनकै कारण ओली सत्ताच्यूत भएका थिए । तत्कालीन प्रधानमन्त्री ओली बालुवाटरमा सेनाको हेलिकोप्टर चढेर भागेका थिए । सेनाको ब्यारेकमा १० दिन बसेर भक्तपुरको गुण्डुमा बस्दै आएका ओलीले दुई महिनाकै बीचमा राजधानीको मुटुमा सरकार र जेनजीको विरुद्ध भाषण गर्ने अवस्थामा पुगिसकेका छन् ।
आजको प्रदर्शनलाई एमालेले निकै महत्व दिएको छ । एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आएको छ । उसले आगामी फागुन २१ गते चुनाव हुन नसक्ने दाबी गरेको छ । त्यसैले गर्दा पनि सरकारलाई निकै दबाब पर्ने विश्लेषण गरिएको छ ।






