काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले ११औं महाधिवेशनमा आफूविरुद्ध प्यानल बनाएर चुनावमा उत्रिएको ईश्वर पोखरेल समूहलाई टिकटमा डोजर लगाएका छन् । पोखरेल समूहबाट जितेका गोकर्ण विष्टबाहेक सबैको टिकट होल्डमा राखिएको छ ।
एमालेले १६५ निर्वाचन क्षेत्रमध्ये शनिबार एकैपटक १४१ क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । सात प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र गण्डकीका सबै क्षेत्रको टिकट तय भइसकेको र बाँकी क्षेत्रका टिकट अध्यक्षको परामर्शमा चाँडै टुंग्याइने उपमहासचिव लेखराज भट्टले बताए ।
महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले टिकट पाएनन् भने उपमहासचिव योगेश भट्टराईको टिकट होल्ड गरिएको छ । सचिवका प्रतिस्पर्धी विनोद ढकाल, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, इन्द्रलाल सापकोटाले टिकट पाएनन् । गैरेको निर्वाचन क्षेत्र पाल्पा २ मा उपाध्यक्ष विष्णु पौडेलले टिकट पाएका छन् ।
पोखरेल समूहका नेताहरू गणेश पहाडी, झपट रावल, एलपी सावा, महेश बस्नेत (इलाम), जय राई, पुरुषोत्तम पौडेल, कृष्ण राई, अमिरबाबु गुरुङ, मनबहादुर गुरुङ, रत्न गौतम, बालकृष्ण सुवेदीले पनि टिकट पाएनन् । अध्यक्षमा भिडेका पोखरेलले पनि टिकट पाएनन् ।
एमालेमा उम्मेदवार छनोटप्रति चर्को असन्तुष्टि देखिएको छ । शनिबार झण्डै आठ घण्टा बसेको सचिवालय बैठकमा निश्चत मापदण्डविनै उम्मेदवार छनोट गरिएको थियो । त्यसमा उपमहासचिव योगेश भट्टराईले असन्तुष्टि जनाउँदै तीन बुँदे नोट अफ डिसेन्ट लेखेर बुझाउने भन्दै बैठकबाट हिँडेका थिए ।





