काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस २६-२८ मा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि थापाले पहिलोपटक सभापतिमा उठ्ने घोषणा गरेका हुन् ।
हिमालयन टेलिभिजनलाई दिएको अन्तर्वार्ताका क्रममा उनले आफू सभापतिको उम्मेदवार भएको बताए । थापाले चुनावमा जानुअघि आफ्नो तर्फबाट सर्वपक्षीय सहमतिका लागि केही प्रस्ताव अघि सार्ने जानकारीसमेत गराएका छन् ।
थापाले थप भनेका छन्, ‘म पन्ध्रौं महाधिवेशनको सभापतिको उम्मेदवार हो । मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले पन्ध्रौं महाधिवेशनबाट यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने छ ।’
उनले प्रतिनिधिसभाको चुनावमा आफू कुन क्षेत्रबाट उठ्ने, काठमाडौं महानगरपालिकाका मेयर बालेनसहितका नेताहरूसँगको सम्बन्ध, नयाँ कांग्रेसको प्रारूपलगायत धेरै विषयबारे आफ्ना धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।






